एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको बताएका हुन् ।

सम्बोधनमा उनले, ‘सबैभन्दा ठूलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले हो, हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ, शान्तिको सन्देश दिएको छ’ भने ।

महासभालाई हिन्दी भाषामा १७ मिनेट सम्बोधन गरेका मोदीले अगाडि भने, ‘त्यसैले, हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र आक्रोश पनि छ ।’ सम्बोधनको क्रममा मोदीले आतंकवाद विश्वका लागि खतरा रहेको बताए ।

मोदीले आतंकवाद कुनै एक देशका लागि मात्र नभइ पूरै विश्व समुदायको लागि ठूलो चूनौती रहेको धारणा राखे । उनले आतंकवादविरुद्ध एकजुट हुन विश्व समुदायलाई अपिल समेत गरे ।