एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्र संघको महासभामा भारत प्रशासित कश्मीरको मुद्दा उठाएका छन् । महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले सत्तामा आएदेखि भारतसँग सम्बन्ध सुधार्नका लागि हात अघि बढाए पनि भारतबाट भने कुनै सकारात्मक जवाफ नपाएको सुनाए । ।

भारतमा चुनावको बेला नरेन्द्र मोदी सरकारको रवैयालाई आफूले राम्रोसँग बुझेको बताउँदै पाकिस्तानी प्रधानमन्त्री खानले दोस्रो पटक सत्तामा आएपछि पनि मोदीले शान्ति पुनःस्थापनाका लागि कुनै प्रयास नगरेको आरोप लगाए ।

प्रधानमन्त्री खानले ५ अगस्टमा कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा खारेज गरेर भारतले ८० लाख नागरिकलाई हरेक प्रकारले कैदमा राखेको बताए ।

यसबाट पनि मोदी सरकारको खास एजेण्डा के हो भन्ने थाहा हुने उनको भनाई छ । पाकिस्तानी प्रधानमन्त्री खानले भारतले शिमला सम्झौता र आफ्नै संविधानविरुद्ध यो कदम चालेको आरोप लगाए ।