बागलुङ । ताराखोला गाँउपालिकाले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ । ‘समृद्ध ताराखोला’को लक्ष्यसहित पाँच वर्षका लागि योजनाबद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

योजनाको मस्यौदा छलफल तथा सुझाव सङ्कलनका लागि शुरुमा वडा तहमा पठाइएको थियो । गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, विषयगत शाखाका प्रमुख, विज्ञलगायतको टोलीले आवधिक योजनाको मस्यौदा बनाएका थिए ।

‘पञ्चवर्षीय योजना अब कार्यान्वयनमा जान्छ’, अध्यक्ष घर्तीले भने, ‘यो ताराखोलाको सपना र भविष्यसँग जोडिएको छ ।’ उनले पञ्चवर्षीय योजनाले ताराखोलालाई समृद्ध र आत्मनिर्भरको बाटोमा लैजाने बताए ।

पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर ताराखोला’को लक्ष्यसमेत किटान गरेको छ । साना उद्योगको प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि ‘उद्योग ग्राम’ सञ्चालन गरिने उल्लेख छ । परम्परागत र सीपमूलक व्यवसायलाई उद्यमका रुपमा विकास गर्ने योजना छ । बाँझो जग्गालाई भूमि बैंकको अवधारणामा एकीकृत गरी व्यावसायिक कृषि खेतीलाई विस्तार गरिने भएको छ ।

‘खाली रहेका खेतीयोग्य जमीन निश्चित समयका लागि गाउँपालिकाले लिने र व्यावसायिक किसानलाई दिने योजना छ’, अध्यक्ष घर्तीले भने, ‘छुट्टै कार्यविधि बनाएर यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’

एकीकृत नमूना कृषि ‘फार्म’का लागि सङ्घीय सरकारबाट चालू आवमा रु दुई करोड बजेट छुट्टिएको र उक्त योजना सञ्चालनका लागि गुरुयोजना निर्माणको काम अघि बढेको जनाइएको छ । न्यून आय भएका किसानको आयआर्जन सुधारमा पनि गाउँपालिकाले सघाउने नीति लिएको छ ।

पाँच वर्षभित्र गाउँ चक्रपथ निर्माण, गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रे, गाउँपालिकाभित्रका मुख्य सडकको स्तरोन्नति र कालोपत्रे गर्ने योजना छ । गाउँपालिकालाई छिमेकी पालिका र जिल्लासँग जोड्ने सडकलाई विशेष जोड दिइएको छ ।