काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकारले महंगी नियन्त्रण गर्न नसकेको बताएका छन् । देउवाले जनताले दशैंखर्च धान्नै नसक्ने गरी महंगी बढाएको र सरकार इतिहासकै असफल सरकार भएको दावि गरेका छन् ।

शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले भने, ‘ओली सरकार नेपालमा सबैभन्दा असफल सावित भएको छ, महंगी पनि यति बढाएको छ कि जनताले दशैं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’

सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए । प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैहृय नहुने उनले चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिए ।

नेपाली कांग्रेसलाई निर्वाचनमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भएपनि अन्तरघातका कारण हार्नु परेको दावी गर्दै सभापति देउवाले आगामी निर्वाचनमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन सिंगो पार्टी पंक्तिले प्रतिज्ञा गर्नुपर्ने पनि बताए ।