काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखला अन्तर्गत नेपालले मंगलबार फेरि टेष्ट राष्ट्र जिम्वावेविरुद्ध खेल्दैछ । पहिलो खेलमा हार व्यहोरेको नेपाल फेरि जिम्वावेसँग भिड्न लागेको हो । इन्डियन एशोसियशनको मैदानमा नेपाल र जिम्वावेबीचको खेल साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

जिम्वावेविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । शुक्रबार भएको खेलमा नेपाल जिम्वावेसँग ५ विकेटले हारेको थियो । तर, दोस्रो भेटमा नेपाल जिम्बावेलाई हराउँदै बदला लिन चाहन्छ ।

यस्तै, नेपाल जिम्वावेलाई हराएर श्रृंखलाको उपाधि होड बलियो बनाउन चाहन्छ । आयोजक तथा एसोसियट राष्ट्र सिंगापुरले आइतबार जिम्वावेलाई हराएपछि नेपाल थप हौसिएको छ । आइतबार राति भएको खेलमा सिंगापुरले जिम्वावेलाई ४ रनले हरायो ।

सिंगापुरले जिम्वावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा छ, रनरेटका आधारमा । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो । जसमा कप्तान पारस खड्काले १०६ रनको कीर्तिमानी शतक बनाएका थिए ।