काठमाडौं । नेपालीहरूको महान पर्व बडादशैं आइतबारदेखि सुरु भएको छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई बडादशैंका रूपमा मनाउने गरिन्छ । नवरात्रको नौ दिन सकिएपछि दशौं दिनमा आफूभन्दा ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिइन्छ । दशैंको दशौं दिनलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । दशैं पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो ? भन्ने यकिन जानकारी नभए पनि यसलाई वैदिककालदेखि नै चलेको मान्ने गरिन्छ । संस्कृतिविद् सत्यमोहन जोशी दशैं मान्ने परम्परा लिच्छविकालमा पनि रहेको बताउँछन् ।

नेपालीहरूको सनातन संस्कृतिको रूपमा रहेको दशैंसँग विविध पक्षहरू जोडिएका छन् । सांस्कृतिक रूपले हेर्दा यो प्राचीनकालदेखिको सनातन पर्व हो । सामाजिक रूपमा हेर्दा यो असत्यमाथि सत्यको विजय भएको पर्व हो । धार्मिक रूपमा हेर्दा यो पर्व देवी दुर्गाको पूजा र महिसासुरको पराजयको पर्व हो । यसैलाई कसैकसैले राम र रावणको युद्धको कथासँग पनि जोड्ने गरेका छन् ।

जे भए पनि दशैं विविधतालाई एकताको सूत्रमा बाँध्ने पर्व हो । दशैं हिन्दु धर्मावलम्बीहरूको मात्रै पर्व भनेर यसमा सांस्कृतिक विचलन ल्याउने प्रयास गरिएको छ । भारतको नक्कल गर्दै दशैं पर्वलाई विजयादशमीमा सीमित राख्ने चेष्टा पनि गरिएको छ । तर नेपालमा दशैं पर्वको सुरुवात राज्यको स्तरबाटै तलेजु भवानीको मन्दिर तथा कुमारी घरबाट गरिन्छ । जसमा बौद्धमार्गीहरूको सहभागिता अपरिहार्य हुन्छ । जीवित देवी कुमारी त शाक्य तथा बज्राचार्य कुलकै हुन् । दशैं कृषिप्रधान संस्कृतिअन्तर्गत कृषकहरूका लागि सबैभन्दा उपयुक्त पर्व हो । अहिले त यसको महत्व पनि उद्योगप्रधान संस्कृति जस्तो भइसकेको छ ।

रोजगारीमा टाढाटाढा जानेहरू घर फर्किने भएकाले यस्तो भनिएको हो । असारमा रोपेको धानमा लहलह बाला झुलेको बेलामा घरमा केही पनि खासै काम नहुने र खेतमा पनि काम नहुँदा जात्रा पर्व गर्ने र टन्न खानेकुरा खाने पर्वको रूपमा पहिलेदेखि नै यसलाई मनाइएको हो । यही पर्वमा आफन्तहरूसँग पनि भेटघाट हुने गर्दछ । साथै, वैज्ञानिक रूपले महत्वपूर्ण मानिएका खानेकुराहरू खाएर रमाइलो गर्ने चलन रहेको छ । दशैंमा प्रयोग गरिने वस्तुहरूको वैज्ञानिक महत्वलाई तल यसरी प्रस्तुत गरिएको छ ।

जमराको वैज्ञानिकता
दशैंमा राख्ने जमरालाई सांस्कृतिक दृष्टिले दीर्घायूको प्रतीक मानिन्छ । तर, जमराको वैज्ञानिकता खोज्दा बिहान शारीरिक व्यायाम गरेपछि जौ र गहुँको जमराबाट बनेको जुस पिउने हो भने रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ र धेरै रोगको निको समेत हुने कुरा वैज्ञानिक रूपमा पुष्टि समेत भइसकेको छ ।

जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गड्बडी, थाइराइड, नसासम्बन्धी रोगका बिरामीलाई फाइदा गर्दछ । त्यस्तै, क्यान्सर, डाइबिटिजलगायतका रोगीले यस्तो जुस पिउँदा फाइदा हुने बताइएको छ । जौ र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथरोग, चिनी रोगलगायत बहुसंख्यक रोगबाट बच्न पनि नियमित यसको सेवन गर्न सकिन्छ ।

जमरामा जौको प्रयोग
जौको जमराको वैज्ञानिकता देखेरै पनि जमरामा यसको प्रयोग गरेको हुनसक्छ । अर्काे कुरा, यो दशैंको प्रचलन वैदिककालदेखि नै चलिआएको पर्व भएको र त्यतिबेला भारत वर्षको प्रमुख खेती नै जौ रहेकाले दशैंमा आफूसँग भएको जौको प्रयोग जमरामा गरिएकोसमेत ऐतिहासिक अध्ययनले देखाएको छ । यसको प्रचलन जसरी भएको भए पनि यसको महत्व भने निकै रहेको मान्न सकिन्छ ।

टीकाको वैज्ञानिकता
धार्मिक रूपमा रातो टीकाले क्रान्ति वा युद्धलाई जनाउँछ । आसुरी शक्तिको युद्धद्वारा पराजय भएकाले पनि यो पर्वमा रातो टीकाको प्रचलन चलेको पाइन्छ । फेरि यो प्रचलन केवल आर्यहरूमा मात्रै सीमित छैन । यद्यपि फरक फरक जाति र क्षेत्रअनुसार शैलीमा भने भिन्नता पाइन्छ । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार नेवारहरूले ‘मोहनी’ भनेर चिन्ने दशैंमा कालो र सेतो टीका अनिवार्य लगाउने गरेका छन् । त्यस्तै, लमजुङ र कास्की भेगका गुरुङ एवं मगरहरूले समेत सेतो चामलको टीका लगाउने गरेका छन् । यसरी टीकामै पनि विविधता भए पनि टीकाको वैज्ञानिक महत्व भने कम छैन ।

मानव शरीरमा रहेका सबै नाडीहरूमध्ये इडा, पिङ्गला र सुषुम्नालाई मुख्य मानिन्छ । सुषुम्ना मस्तिष्कको मध्यभागबाट निधारतर्फ निस्केको हुन्छ । सुषुम्नालाई ज्ञानको प्रवाहक मानिन्छ । त्यसैले सुषुम्नामा पर्ने गरी नै टीका लगाइन्छ । निधारमा लगाइएको चन्दनले मानिसका विकारयुक्त किटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, वीर्य संरक्षण गर्ने मान्यता रहेको छ । चन्दन लगाउँदा मन शीतल हुन्छ भन्ने मान्यतासमेत रहेको छ । मस्तिष्कको तातोपनालाई सन्तुलित राख्न पनि चन्दन लगाउने गरिन्छ । टीका लगाउँदा हाम्रो निधारको पिट्यूटरी ग्रन्थी सक्रिय हुन्छ । जसका कारण शरीरबाट अल्छीपना दूर हुन्छ । दिमागी शक्तिको विकास हुनुका साथै मानसिक तनावबाट मुक्ति मिल्छ । निधारमा नियमित रूपमा टीका लगाउँदा दिमागका नशाहरू सक्रिय रहन्छन् भन्ने विश्वास छ ।

पिङ खेल्दाको वैज्ञानिक महत्व
पिङको वैज्ञानिकतालाई हेर्दा खासै धेरै नभेटिए पनि यसको महत्व मनोरञ्जनको लागि मात्रै नभएर धार्मिक रूपमा छ । संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार व्याप्त बुझाइबाहेक वैज्ञानिक दृष्टिकोणबाट पनि पिङको महत्व छ । ‘गाउँघरमा खेतीपातीमा खटिएका मानिसले दशैंलाई सुस्ताउने र रमाइलो गर्ने मौकाका रूपमा लिन्छन्,’ उनले भने, ‘बर्खामा हिलो खेलेको खुट्टा, कुटो, कोदालो गरेर थाकेको शरीर, दशैंमा टन्न खाएर पिङमा मच्चिँदा नसा तन्किन्छ, स्वस्थ्य भइन्छ भन्ने विश्वास छ ।’

कुभिण्डोको महत्व
दशैंमा बलिका लागि एउटा महत्वपूर्ण फल हो कुभिण्डो । बोकाको बलि दिने र नदिनेले पनि यसको बलि दिने गर्छन् । कताकतै कुभिण्डो काटेर तरकारी खाने चलन पनि छ । संस्कृतमा कुष्माण्डाको नामले चिनिने यो फलको पनि वैज्ञानिक रूपमा निकै महत्व छ । कुभिण्डोको सुकेको बोक्राको धुलो २० ग्राम पानीसित सेवन गरे अलकाईबाट आउने रगत बन्द हुने विश्वास हो । स्वादमा समेत निकै स्वादिलो कुभिण्डो स्वास्थ्यको दृष्टिले निकै महत्वपूर्ण रहेको आयुर्वेद शास्त्रले उल्लेख गरेको छ ।

दशैं र मासु के पर्यायवाची हुन् ?
नेपालीहरूको महान् पर्व दशैं र यसमा धेरैले खाने गरेको मासुको सम्बन्ध गहिरो छ । दशैं र मासु पर्यायवाची शब्दको रूपमा लिने चलन पनि छ । तर यो वास्तवमा गलत हो भन्न सकिन्छ । पछिल्लो समय नेपालमा पनि शाकाहारीको संख्या बढ्दै गएको छ । शाकाहारीबाहेक सबैले दशैंका बेला सामान्य अवस्थामाभन्दा धेरै मासु खपत गर्ने गरेका छन् ।

मासु खानेका लागि दशैमा मासु साँच्चै नै ठूलो महत्वको हुन्छ । अझ भन्दा आर्थिक रूपमा कमजोर अवस्था रहेकाहरूका लागि झनै दशैंको महत्व एकदमै बढी रहेको देख्न सकिन्छ । उत्सव र चाडपर्वका बेलामा खुसी साट्नका लागि र मनोरञ्जनका लागि प्रयोग गरिने जुवाताससँगै त्यसैको साथसाथमा मासु खाने प्रचलनले केही वर्ष अगाडिसम्म मासुलाई दशैंको पर्यायवाची मान्ने चलन थियो । तर, अहिले यो भान मानिसबाट हट्दै गएको छ ।

इतिहासमा दशैंको लिगलिगकोटसँग सम्बन्ध
लिगलिगकोटको राज्य सञ्चालन गर्न प्रत्येक वर्ष विजयादशमीका दिन दौड प्रतियोगिता गरी प्रमुख व्यक्ति छान्ने गरिन्छ । यो दौडको विषयमा पनि ऐतिहासिक किंवदन्तीहरू फरक फरक रहेको छ । कसैले द्रव्य शाह पनि यही दौडबाटै छानिएको भन्ने किंवदन्ती रहेको छ भने कसैले त्यहाँका मगरहरूसँग युद्ध गरेर नै लिगलिगको राज्य हासिल गरेको भन्ने किंवदन्ती पनि पाइन्छ ।

दशंैसँग जोडिएको लिगलिगकोट (लिङलिङ) नाम स्थानीय मगर भाषामा ‘सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द हो । लिङलिङ र युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाका लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङकोटबाट अपभ्रंश भएर बनेको विश्वास गरिन्छ ।’ हेर्दा वरपरको मनमोहक दृश्य देखिने हुँदा उक्त स्थानलाई लिङलिङकोट भनिएको र त्यही शब्द अपभ्रंश भएर लिगलिगकोट भएको हो । आर्य खस बाहुन क्षेत्रीहरूको आगमन हुनुभन्दा पहिला गाउँ ठाउँहरूको नाम स्थानीय मंगोल समुदायको भाषामा रहेको पाइन्छ ।

मस्र्याङ्दी, दरौंदी भुसुन्दी, घिरुङ्ग, खोप्लाङ नामहरू जस्तै लिङलिङ रहेको पाइन्छ, लमजुङका अधिराजकुमार द्रव्य शाहको नेतृत्वमा भागिरथ पन्त, गणेश पाण्डे, नारायण अर्याल, सर्वेश्वर खनाल, गजानन भट्टराई, केशव बोहराको योजनामा सैनिकहरूले लिगलिगका राजाको दरबारलाई घेरी आक्रमण गरेका थिए । त्यतिबेलासम्म गोरखामा दशैंको समयमा रातो टीका लगाउने गरिन्थ्यो भने लमजुङ र कास्कीमा चामलको मात्रै टीका लगाउने चलन थियो । गोरखाले लमजुङ र कास्कीमाथि विजय हासिल गरेपछि मात्रै चन्दन र अक्षता मिसाएर दशैंमा टीका लगाउने प्रचलन बढेको हो । पहिले नयाँ चामल आएपछि लगाउने यो टीका निधारमा जति धेरै लगायो उसको समाजमा त्यति धेरै प्रतिष्ठा बढ्ने भएकाले पनि निधारभरि नै टीका लगाउने चलन चलेको हो ।