काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले दशैँमा आफूकहाँ आउने सर्वसाधारणलाई टीका लगाइदिने टीका तालिका सार्वजनिक भएको छ ।

पञ्चाङ्ग अनुसार यसपालि टीकाको उत्तम साइत असोज २१ गते मंगलबार बिहान १०ः३५ बजे भनिएको छ । यद्यपि, विजयादशमीको दिन दिनभर टीका लगाउन कुनै बाधा पर्ने छैन । राष्ट्रपति भण्डारीले साइतको टीका परिवारसँग लगाउने र संवैधानिक निकायका पदाधिकारीलाई टीका लगाइदिन दिउँसो १ देखि २ बजेसम्मको समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजेपछि मात्र सर्वसाधारणलाई टीका लगाइदिनु हुनेछ । राष्ट्रपति कार्यालयका अनुसार टीका थाप्न कसैलाई पनि अनिवार्य गरिएको छैन । तर, आफूखुसी आउनेलाई लगाइदिने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले पनि साइतको बेलामा परिवारमा टीका लगाउने र त्यसपछि बालुवाटार आउनेलाई टीका लगाइदिने कार्यक्रम छ ।

त्यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विजयादशमीको दिन अपरान्ह ४ बजेपछि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम सार्वजनिक भएको छ ।

त्यसअघि पूर्वराजाले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम छ । पूर्वराजाले महाअष्टमीको दिन नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने बताइएको छ ।