काठमाडौं । शनिबार स्वर–सम्राट नारायणगोपाल गुरूवाचार्यको ८०औँ जन्म जयन्ती । नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदान सम्झिँदै हरेक वर्ष उनको जन्मजयन्ती मनाइन्छ ।

बुवा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रुपमा विक्रम संवत १९९६ असोज १८ गते काठमाडौंको किलागलमा उनको जन्म भएको थियो । नारायण गोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराएका थिए ।

नारायण गोपालका धेरै माया दिई, मलाई नसोध कहाँ दुख्छ घाउु, एउटा मान्छेको मायाले, अल्झेछ क्यारे पछ्यौरी, लालीगुराँस भएछु लगायत झण्डै पाँच सय गीत रेकर्ड छन् ।

नारायणगोपालले नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), संवत २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार लगायतबाट सम्मानित छन् । उनको विक्रम संवत २०४७ मंसिर १९ गते वीर अस्पतालमा निधन भएको हो ।