लहान । हातमा पैँसा भइरहने कर्मचारी, व्यापारी अथवा आर्थिक अवस्था राम्रो भएकाहरु किनमेलमा व्यस्त भए । तर, बालुवा चालेर जीविकोपार्जन गर्ने मजदुरको हकमा त्यस्तो भएन । बालुवा गिटी चालेर गुजारा गर्ने मजदुरलाई दशैँले छोएकै छैन । उनीहरुमा दशैँ आएको जस्तो कुनै उत्साह छैन ।

लहान १०, १४ र २४ का दलित समुदायहरु दिनहुँ खुटीसरे खोलामा बालुवा गिटी चालेर गुजारा गर्नेहरू मजदुरीले पेट पाल्ने बाहेक एक रुपियाँ रकम बचत नहुनेहरुले कसरी दशैको रमझम गर्ने ? दशै त हुनेखाने कर्मचारी र व्यापारी वर्गको पर्व हो । मजदुरको लागि कुनै पर्वमा उत्साहित हुन खर्च गर्न रकम नै हुँदैन के चाडपर्व मनाउनु सरे खोलामा गिटी बालुवा चालिरहेका धनिकलाल पासवान बताँउछन् ।

उनी भन्छन्, ‘तीन महिना खोला बन्द हुँदा साहु महाजनबाट ऋण काढेर गुजारा गरयौँ बल्ल खोला खुलेको छ । वर्षातको कारण दुई दिन चाल्दा आठ सय रुपियाँ हुन्छ । आठसयमा खाएको ऋण तिर्न र पेट पाल्नैमा सकिन्छ । पैसा भए पो दशै मनाउनु । देशमा व्यवस्था बदलिएपनि गरिब मजदुरको लागि केहि परिर्वन नआएको गुनासो धनिकलाल जस्तै अरु मजदुरको पनि छ ।’

अर्का मजदुर विरेन्द्र पाससवान भन्छन्, ‘गरीव मजदुर चाडपर्वमा पनि दुई चार दिन बसेर मीठो मसिनो खाने नयाँ लुगा लगाउने अवसर पाँउदैन । सरे नदीको किनारमा घर छ, यहि नदीको बालुवा गिटी चालेर गुजारा गर्ने भर छ । दशैको मेला हेर्न एक दिन लहान बजार गएर देवी दुर्गाको दर्शन गरेर दुई चार सयको प्रसाद ल्याई खान्छौ, हाम्रो दशै सधैं यस्तै बित्ने गरेको छ ।’

मानव अधिकारवादी राज कुमार राउतका अनुसार दशैं सवैको पर्व बनोस् , मजदुर गरीवहरुपनि दशैको उमंगमा रमाइलो गर्न पाउन यसको लागि सुकुम्वासी र विशुद्ध पसिना बेचेर खाने मजदुर वर्गको लागि तीनै तहको सरकारले केहि राहतको व्यवस्था गरिदिए हुन्थ्यो, ताकि सामाजमा पर्वको वेला भए पनि सामानता देख्न सकियोस् ।

दलित अभियानकर्मी मोहन पासवान भन्छन्, ‘दशैको वेला के शहर के गाँउ चारैतिर रमझम हुन्छ तर मजदुरहरुको घरमा दशैं कहिल्यैपनि नआए जस्तो हुने गरेकोले अति विपन्न परिवारको पहिचान गरेर दशैको वेला लुगा, खाद्यपदार्थ सहुलियतमा दिएर सबैले समानढंगले चाडपर्व मनाउन पाउने वातावरणमा तीनै तहका सरकारको ध्यान जाओस् ।’