काठमाडौं । आज विक्रम संवत् २०७६ साल असोज १९ गते आइतबार, ईश्वी संवत २०१९ अक्टुबर ६ । नेपाल सम्बत ११३९ कौलाथ्वः महाष्टमी । नवरात्रको आठौं दिन, महाष्टमी व्रत ।

अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको महाअष्टमी तिथि दिउँसो २ बजेर २२ मिनेटसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । पूर्वाषाढा नक्षत्र बेलुका ७ बजेर १५ मिनेटसम्म रहनेछ । अतिगण्ड योग र बालव करण रहेको छ ।

नवरात्रको आठौँ दिन आज महाअष्टमी हो । महाअष्टमीका दिन महागौरीको उपासना र पूजा हुने गर्दछ । चार हात भएकी, वृषभ तथा सिंहवाहिनी, सन्तापहारिणी देवीको नाम महागौरी हो । महागौरीलाई सेतो रङ प्रिय छ, त्यसैले महागौरीका वस्त्र तथा गरगहना सेतै छन् । सेतो वस्त्रादि मन पराउने भएकीले श्वेताम्बरधरा नामबाट पनि चिनिन्छिन् । महागौरी भक्तजनलाई असत्यको बाटोबाट हटाई सत्यको मार्गमा लैजान्छिन् भन्ने मान्यता छ ।

महाअष्टमीका दिन भद्रकाली देवीको विशेष पूजा अर्चना हुने गर्दछ । यो दिन सिंहपूजा, भगवती देवीको षडङ्गपूजा, शस्त्र पूजाका साथै नवदुर्गा भगवतीको पूजा आराधना हुने गर्दछ । यस्तो यो दिन बली दिएपछि महाअष्टमीको पूजा आराधना हुन्छ ।