ललितपुर । इमाडोलमा नक्कली लालपूर्जा देखाएर अर्काको जग्गा विक्री गर्ने प्रयासको खुलासा भएको छ । शंका लागेर खरिदकर्ताले मालपोत कार्यालयमा परीक्षण गर्दा अर्कैको नाम भेटिएपछि त्यसमा संलग्न गिरोह पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरले शुक्रबार भक्तपुर सूर्यविनायककी सुष्मा श्रेष्ठ, बाङ्गेमुडाकी निर्मला श्रेष्ठ, सितापाइलाकी निलिमा श्रेष्ठ र इमाडोलका निरज ताम्राकारलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कम्प्युटर, मोबाइल, ब्लु प्रिन्ट, ट्रेस नक्सा, जग्गा धनी प्रमाणपत्रमा प्रयोग हुने १० वटा रातो कभर, कीर्ते कागज तयार गर्न प्रयोग हुने ४ वटा रबर स्ट्याप, प्याड र अन्य विभिन्न व्यक्तिको नाममा रहेको १५ वटा कीर्ते लालपूर्जा बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

राईका अनुसार पक्राउ परेका मध्ये ताम्राकारले इमाडोलमा १३ आना जग्गा भएको बताएर विक्री गर्न खरिदकर्ता खोजिरहेका थिए । उनले पक्राउ परेका अन्य महिलालाई प्रयोग गरेर ८ आना जग्गा विक्रीका लािग ग्राहक भेट्टाए ।

जसअनुसार जग्गा खरिदका लागि १६ असोजमा एक करोड रुपैयाँ बैना दिइएको बताइन्छ । बैना दिने क्रममा ताम्राकारसँग शंका लागेपछि पीडित मालपोत कार्यालय पुगे । जग्गा अर्कै व्यक्तिको नाममा भेटिएपछि घटना प्रहरीकहाँ पुग्यो।

प्रहरी अनुसन्धानका क्रममा ताम्राकारले विभिन्न सरकारी संस्थामा लालपूर्जा देखाएर ऋण लिने प्रयोजनका लागि नक्कली कागज बनाएको बयान दिए । उनको मोबाइलमा पनि ती लालपूर्जाको ‘इलेक्ट्रोनिक डकुमेन्ट’ भेटिएको प्रहरी अधिकृतले बताएका छन् । ताम्राकार जग्गा व्यवसायी रहेका बताइएको छ ।-प्रतिकात्मक तस्वीर