एजेन्सी । आईसीसी वर्ल्ड टेष्ट च्याम्पियनसीप अन्तर्गत दक्षिण अफ्रिविरुद्धको पहिलो टेस्टमा भारतले ठूलो अन्तरको जित निकालेको छ । टेष्टको दुवै पालोमा भारतीय खेलाडी रोहित शर्माले शतक प्रहार गरे ।

दक्षिण अफ्रिकाले जितका लागि चौंथो पालोमा ३ सय ९५ रनको चुनौती दिएको थियो । तर, भारतीय बलरसामु घुँडा टेकेको अफ्रिकी टोली १ सय ९१ रनमै पत्तासाफ भयो । र, भारतले २०३ रनले खेल आफ्नो कब्जामा लियो ।

टेष्ट विजयका लागि पहिलो पालोमा भारतीय ओपनरद्वय रोहित शर्मा र मयंक अग्रवालले गरेको विशाल साझेदारी नै निर्णायक सावित भयो । उनीहरुले ३ सय १७ रनको साझेदारी गरेका थिए, जसमा अग्रवालको २ सय १५ रन र रोहितको १ सय ७४ रन सामेल थियो । उनीहरुको विशाल साझेदारीको मद्दतमा भारतले ५ सय २ रनको योगफल तयार पारेर पहिलो पालो टुंग्याएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाको सुरुवात अराब रहयो । एक समय ६३ रनमा चार विकेट गुमाइसकेको अफ्रिकालाई डिन एल्गर र क्वीन्टन डि’ककले शतक हान्दै उद्दार गरे। एल्गरको एक सय ६० र डिकोकको एक सय ११ रनको मद्दतले दक्षिण अफ्रिकाले ४ सय ३१ रन बनायो । भारतीय स्पिनर रविचन्द्रन आश्विन एक्लैले सात विकेट लिँदै अफ्रिकामाथि हावी भए ।

यसैगरी पहिलो पालोमा ७१ रनको अग्रता लिएको भारतले दोस्रो पालोमा राम्रो गर्न सक्यो । रोहित शर्माले एक सय २७ रनको इनिङ खेल्दा चेतेश्वर पुजाराले ८१ रनको योगदान दिए । भारतले ४ विकेटको नोक्सानीमा ३ सय २३ रन बनाउँदा पालो टुंग्यायो ।

३९५ रनको लक्ष्य दक्षिण अफ्रिकाका निमित्त निकै गह्रुंगो सावित भयो । ७० रनको स्कोरमा नै ८ जना अफ्रिकन ब्याट्सम्यानहरु पेभिलियन फर्किए । भारतीय बलरहरुमध्ये मोहम्मद सामी र रवीन्द्र जडेजाले संयुक्त ९ विकेट लिएका थिए ।

टेष्टको पाचौं दिनमा लञ्चअघि नै एक सयभन्दा कम योगफलमा समेटिने लक्षण देखाएको अफ्रिकाको पालो सेनुरन मुथुसमी र डेन लिरोइ पियटले केहीबेर लम्ब्याए । उनीहरुले क्रमशः ४९ र ५६ रन बनाउँदै खेललाई लन्चपछिसम्म धेकेले । तर ठूलो अन्तरको हार टर्ने कुरै रहेन ।