कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख तथा वडा अध्यक्षहरूलाई दसैंभत्ता लिएको विरोधमा दिपावली खर्च जुटाई दिन भन्दै तौलिहवाका नागरिक अगुवाहरूले चन्दा संकलन अभियान सुरु गरेका छन् ।

बढ्दो महंगीमा एक महिना बराबरको भत्ता रकमले दसैं खर्च नगर प्रमुख र वडा अध्यक्षहरूलाई नपुग्ने भन्दै व्यंग्यात्मक शैलीमा पाँच÷दस रूपैयाँ चँदा संकलन सुरु गरेको मधेश मानव अधिकार गृहका अध्यक्ष रवि ठाकुरले बताए ।

तौलिहवा बजार परिक्रममा गरी दसैं अवधीभर चन्दा संकलन गरिने र संकलन भएको यो रकम दिपावलीको अवसरमा नगर प्रमुख किरण सिंहलाई दिपावली खर्च बापत बुझाईने अध्यक्ष ठाकुरले बताए ।

‘स्थानीय सरकारको रूपमा रहेको नगर कार्यपालिकाले बहुमतबाट जे जे निर्णय गरे पनि लागु हुन्छ भन्ने दम्भ नगर प्रमुख तथा वडा अध्यक्षहरूमा छ,’ अधिकारकर्मी ठाकुरले भने, ‘त्यस्ता दम्भ तोड्न पनि अब नागरिक समाज र नागरिक अगुवाहरूले खबरदारी गर्नु पर्छ ।’

अभियानलाई गैरसरकारी संस्था महासंघ, जवाफदेहिता निगरानी समिति, जेष्ठ नागरिक समाज, दलित महिला अधिकार संघ, कालिका स्वावलम्वन सामाजिक केन्द्र, तौलिहवा उद्योग वाणिज्य संघ लगायतका नागरिक संघ संस्थाहरूले नेतृत्व गरेका छन् ।

नगर क्षेत्रको विकास र जनप्रतिनिधिहरूको जवाफदेहिताका लागि अब निरन्तर रूपमा यस्ता खबरदारी कार्यक्रम सञ्चालन गरिने गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रवीण कुमार श्रीवास्तवले बताए ।जिल्ला तथा अन्यत्रका नगरपालिकाहरूले पनि दसैं खर्च बुझेका कारण आफूहरूले पनि दसैं खर्च बुझेको नगर प्रमुख किरण सिंहले संचारकर्मीलाई बताए ।