काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् ।
बडादसैं २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गरेका छन् ।

प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरण
‘‘दिदीबहिनी तथा दाजुभाइहरू, हामी नेपालीहरूको महान र परम्परागत चाड बडादसैंका उपलक्ष्यमा यहाँहरू सबैमा अर्थात् देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनः मिलनको चाड हो, आफन्तहरूका बीचमा, छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड हो ।

यो चाड आफूभन्दा ठूलाहरूबाट आशीर्वाद लिने सानाहरूलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ । भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरूलाई तोड्दै जानुपर्ने आवश्यकता छ ।

यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ। चाडहरू बढी खर्चालु नहून्।

हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ। यसमा पनि ध्यान दिन जरुरी छ ।
आज हामी राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा छौँ । यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत
हामी ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ । यस अभियानमा यो दसैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस् । म यस बडादसैंका अवसरमा शुभकामना व्यक्त गर्दछु । धेरै धेरै शुभकामना।’’