काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागि भए । चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउँदैछन् ।

सुर्पुदगी सन्धि नहुने
चिनियाँ राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणका क्रममा सुर्पुदगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको छ । पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग भएको छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो जानकारी दिए । ज्ञवालीले सुपर्दगी सन्धि एजेण्डामा नै नरहेको बताए ।

पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार अरु छिमेकी देशहरु पनि छलफल भइरहेको छ । चीनसँग पनि हुन्छ । तर यही भ्रमणमा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने जानकारी गराइएको उनले सुनाए ।

चीनले सीको यो भ्रमणका क्रममा सुर्पुदगी सन्धिमा हस्ताक्षर गर्न निकै जोड दिएको बताइन्छ । सन् २००९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन जाँदा सुर्पुदगी सन्धि गर्ने प्रस्ताव राखेको थियो भने तीन वर्षअघि सन्धिको मस्यौदा नेपाललाई दिएको थियो ।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओली चीन जाँदा सन्धि अगाडि बढाउने समझदारी भएको छ । अधिकारीहरुकाअनुसार सन्धिको मस्यौदालाई अन्तिम रुप दिन हालै मात्र दुई देशका अधिकारीहरुबीच छलफल पनि भएको छ । तर, चिनियाँ राष्ट्रपति सीको आसन्न भ्रमणका क्रममा सन्धिमा हस्ताक्षर नहुने भएको छ ।