जुम्ला । गुठीचौर गाउँपालिका ५ स्थित वनक्षेत्रबाट वुधबार बिहान कालो भालु एक्कासी गाउँमा पस्यो। भालु गाउँमा पस्ने बित्तिकै गाउँले त्रसित बने।

एकआपसमा हल्लीखल्ली हुन थाल्यो। भालुले त्यो बिहान तीन जनामाथि आक्रमण गर्यो। भालुको आक्रमणबाट गुठिचौर ५ का कालेदमाइ,बसन्ती भण्डारी र खगेन्द्र अधिकारी घाइते भए। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

भालु गाउँमा पसेको खबर पाउने बित्तिकै डिभिजन वन कार्यालयको टोली भालुलाई जंगलतिर लखेट्न खटियो। टोलीले गुठिचौर ४ को उखाडी जंगलसम्म लखेट्यो। डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्री भन्छन्, ‘सुरक्षितस्थल तिर लखेटेको भालु बिहिवार उखाडी गाउँमा पसेर आतंक मचाउन थाल्यो।’

भालुको आक्रमणमा परि उखाडी गाउँका मानबहादुर भण्डारी र गज्र्याङकोट गाउँमा ईश्वर बुढा घाइते भए। अन्तत गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआउने देखियो। गाउँमा कोलाहल मच्चियो। भालु देखि सुरक्षित हुन निकै कठिन बन्यो। गाउँले एकै ठाउँमा जम्मा भएर भालु भगाउने उपाय अपनाउन थाले। तर तर भालु गाउँदेखि भगाउने कुनै पनि उपाय सफल हुन सकेनन्। झन भालुले गाउँमै बसेर मानवीय क्षेति गर्ने संकेत देखियो।

भालु बहुला प्रकृतिको, हिंस्रक म्या(न इटर) प्रकारको थियो। डिभिजन प्रमुख खत्री भन्छन्, ‘भालुलाई सुरक्षित स्थल तिर पठाउने अधिकतम पहल भएको थियो। तर भालुले जंगलतिर जान मानेन्। गाउँमा पसेर हिंस्रक क्रियाकलाप गर्न थाल्यो। भालु आतंकले गाउँ नै त्रासित बन्यो।’

भालुले गाउँ नछोड्ने संकेत देखिएपछि गाउँलेले भालु मारिदिन स्थानीय प्रहरी प्रशासनलाई गुहारे। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले राष्ट्यि निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा (१०) को (ख) बमोजिम गोली हानेर भालु मार्ने आदेश दिइन्। ऐनको उफा दफा (१०) को (ख) मा ‘कुनै पनि जंगली जनावरले वनक्षेत्र बाहिर आई, मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने बन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन र लखेट्न सकिने छ’ भन्ने उल्लेख छ।

पूर्वमा चिप्लेढुंगा,पश्चिममा झुलाखोला,उत्तरमा तिला नदि र दक्षिणमा कुम्डी गाउँमा मकै बारीमा बसेको अवस्थामा भालुलाई गोली हानेर मारियो। शसस्त्र प्रहरी, नेपाल प्रहरी र डिभिजन वन कार्यालयको सक्रियतामा मरेको भालुलाई डिभिजन वन कार्यालयमा ल्याएर राखियो।

भालुको लम्बाई ६ फिट, उचाइ ७ फिट ६ इन्च थियो। झण्डै सात वर्षको भनिएको त्यो भालुको तौल तीन क्वीन्टल । भालुको छाती र ढाडमा दुइवटा गोली लागेको थियो।

डिभिजन वन कार्यालयमा राखिएको भालु वन कार्यालय भित्रको कम्पाउण्डमा ११ फिट गहिरो खाल्डो खनेर गाडिएको छ। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, सशस्त्र प्रहरी उपरिक्षक सरद न्यौपाने, डिएसपी लालबहादुर धामी, प्रमुख कोष नियन्त्रक रामप्रसाद विडारी, पशु भेटनरी अस्पताल, चन्दननाथ नगरपालिका र पत्रकारहरुको रोहवरमा खाल्डोमा गाडिएको बन कार्यालयले जनाएको छ।

दस पोका नुन भालुको शरीरमा छरिएको छ। डिभिजन प्रमुख खत्री भन्छन्, जुम्लामा रातो र कालो भालु पाउँछ तर पछिल्लो समयमा रातो भालु देखिएको छैन्। कालु भालुको विगविगी नै छ। निश्चित भालुको गणना भने गरिएको छैन्। ’त्यो भालु तिब्र जनसंख्या बृद्धि या जंगल बिनासका कारण गाउँमा आहराको लागि झरेको हुन सक्ने अनुमान गरिएको छ। यो भालुले फलफुल बढि रुचाउँछ। यो समय मकै, स्याउ र बिभिन्न फलफुल उत्पादन हुने समय भएकोले गाउँमा पसेको हुन सक्ने स्थानीय बताउँछन्। स्थानीयले गाउँमा पसेको भालु लखेट्न धेरै प्रयास गरेको भएपनि असफल भएको बताउँछन।