काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा २३ वर्ष पछि चीनका राष्ट्रपतिले नेपालको राजकीय भ्रमण गरेका हुन् । सी राष्ट्रपति भएपछि उनको यो पहिलो र ऐतिहासिक नेपाल भ्रमण हो ।

सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन् । राष्ट्रपति सी विमानस्थलबाट अवतरण गर्नुभए लगत्तै राष्ट्रपति भण्डारीले उनलाई स्वागत गरिन् । जहाँ परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली समेत उपस्थित भए ।

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाको टुकडीले विमानस्थल मै सलामी अपर्ण गरेको थियो । विमानस्थलमै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति भए । त्यसैगरी, उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल, उपप्रधान एवम् स्थास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादब, सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासहितका मन्त्रीहरु पनि उपस्थित भए ।

राष्ट्रपतिको स्वागतका लागि सडकमा नेपाल सरकारका कर्मचारी, विभिन्न संघ संस्थाका पदाधिकारी तथा सर्वसाधारण बाक्लो रुपमा उपस्थित भए ।