काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि तयारी गर्दा सजावटमा मात्रै २० करोड खर्च भएको छ । सरकार र काठमाडौं महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी’को सवारी क्षेत्रमा सडकसहितका संरचना सिंगार पटार गर्दा २० करोड खर्च भएको हो । सडक छेउछाउका संरचना रंगाइएको छ ।

भत्किएका, जीर्ण भएका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन व्यानरले छोपिएको छ । चोक चोकमा फूलसहितका गमला राखिएको छ, भने अस्तव्यस्त तीनकुने पार्कको डिलमा दुबो, फूल र विरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–बानेश्वर–माइतीघरहुुँदै लाजिम्पाटसम्मको बाटो कालोपत्रे गरिएको छ । भित्ता चम्काइएको छ । सजावट गरिएको छ ।

खानाको मेनुमा कुरिलो र क्वाँटी
चिनियाँ महामहिमका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बेलुकी सी बसेको होटल सोल्टीमा राजकीय भोज (स्टेट व्यांकेज) आयोजना गरिन् । भोजमा सीका लागि नेपाली खानाका परिकार तयार पारियो । सीलाई सुरुवाती खानाका रुपमा बारा, मःम र लुक्लाको सीमीसँगै साँधेको भटमास राखियो ।

सुप परिकारमा कुरिलो र क्वाँटीको रस थियो । मुख्य परिकारमा पट रोस्ट ल्याम्ब राखियो । साथमा इलामको चिया र गुल्मीको कफी पनि । भोज सुरु हुनुअघि राष्ट्रपति भण्डारीले पहिलो सम्बोधन गरिन् । त्यसपछि चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरे । सम्बोधनको अन्तिममा दुबैले ‘टोस्ट’ गरे । त्यसपछि भोज औपचारिक रुपमा सुरु भयो ।

चीनबाट भएका उच्चस्तरीय भ्रमण
प्रधानमन्त्री– चाउ एन लाइ (सन् १९५७, १९६०)
उपप्रधानमन्त्री– डेंग स्याओ पिङ (सन् १९७८)
प्रधानमन्त्री– छाउ जियाङ (सन् १९८१)
प्रधानमन्त्री– ली सिनिएन (सन् १९८४)
प्रधानमन्त्री– ली पिङ (सन् १९८९)
राष्ट्रपति– जियाङ जेमिन (सन् १९९६, ‘२३ वर्ष अघि’)
प्रधानमन्त्री– झु रोङजी (सन् २००१)
प्रधानमन्त्री– वेन जियावाओ (सन् २०१२)
राष्ट्रपति– सी जिनपिङ (२०१९, ‘२३ वर्षपछि’)