गौर । रौतहटको राजपुर बम बिस्फोट घटनाको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहमद अफताव आलमलाई जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङले सांसद आलमलाई ७ दिनको म्याद थप्ने आदेश दिएका हुन् ।

सांसद आलमले घटनाको १२ वर्ष पछि बिना प्रमाण आफुलाई पक्राउ गरेको न्यायाधीश सामु बताएका छन् । उनलाई अदालत पेश गर्ने क्रममा प्रहरीले गौरको सुरक्षा व्यवस्था निकै कडा बनाएको थियो। २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट र त्यसका घाइतेलाई इँटा भट्टामा जलाएर मारको आरोपमा अनुसन्धानका लागि असोज २६ गते आइतबार पक्राउ गरिएका हो। उनी नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद हुन्।

२०६४ सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए। प्रमाण नष्ट गर्नका लागि घाइते भएका १३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरेको थियो।

पीडित परिवारको जाहेरीअनुसार विस्फोटको घटनापछि तत्कालीन एसपी लक्ष्मण न्यौपाने (टीकापुर घटनामा मृत्यु भइसकेको) तत्कालै घटनास्थल पुगेका थिए । भोलिपल्ट अर्थात् २८ गते बिहान जिल्ला प्रहरीको टोली पनि पुग्यो तर, कतै पनि बम विस्फोटको घटना नभएको सर्जमिन मुचुल्का गर्‍यो। प्रहरी प्रधान कार्यालयसहित सम्बन्धित निकायमा जानकारी सत्यतथ्य नपठाउनुमा आलमको राजनीतिक प्रभावमा भन्ने बुझेर पीडित परिवार आक्रोशित थिए ।

धेरै रोइकराइ गरेर जाहेरी दिएका पीडित परिवारलाई आश्वस्त पार्न प्रहरीले अनुसन्धान गरेजस्तो झारा टार्‍यो। घाइतेलाई जिउँदै जलाइएको भनिएको भट्टाको माटो परीक्षणका लागि नलिई प्रहरीले त्यसबेला अर्कै भट्टाबाट लगेको पीडित परिवारको आरोप छ । २०६५ असार ९ मा जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले कसुर पुष्टिको आधार कमजोर भन्दै मुद्दा चल्न नसक्ने प्रतिवेदन बनायो । असार ३० मा महान्यायाधिवक्ता कार्यालयले उक्त निर्णयको पक्ष लिँदै मुद्दा नचलाउने भएपछि राजपुर बमकाण्ड ओझेलमा पर्‍यो ।

न्याय माग्दै सर्वोच्च पुगेकी आमालाई पनि छोडेनन्

शेख रुक्सना खातुन आफ्ना जेठा छोरा ओसी अख्तरलाई न्याय दिलाउन लागि परिन् । रौतहटको फरहदवामा रुक्सनाका जेठा छोरासहित दर्जन बढी मान्छे मारिए । उनीहरूलाई कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताब आलमको चुनाव प्रचारका लागि लगिएको थियो।

आलमका काका शेख इद्रिसको गोठमा भएको बम विस्फोटमा घाइते छोरालाई इँटाभट्टामा जिउँदै जलाइएको भन्दै रुक्सनाले प्रहरीमा जाहेरी दिइन्। तर, कहिले जाहेरी फिर्ता लिन दबाब आयो, त कहिले धम्की। साविक सरुअठा गाविस–९ स्थित उनको घरमा लगातार आक्रमण भयो। उनलाई आलमका भाइ मोहम्मद महतावले धम्की र लालचले गलाउन खाेजे । उनी पछि हटिनन् ।

रुक्सनाका सम्धी सम्सुल मियाँ भन्छन्, ‘कहिले घरको झ्यालमा गोली हानिन्थ्यो, कहिले ढोकामा । आलमको भाइ म कहाँ पनि धम्की र लोभ देखाउन आएको थियो।’

उनका अनुसार मोहम्मद महतावले जग्गा चाहिन्छ भए जग्गा लेउ, पैसा चाहिए पैसा लेउ भनिरहे । तर, रुक्सनाले एउटै जवाफ दिइरहिन्- ‘हामीलाई पैसा चाहिँदैन, न्याय चाहिन्छ।’

प्रहरीले अनुसन्धान गरेर आलमविरूद्ध प्रतिवेदन पठायो। सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्‍यो। साक्षी प्रमाण हुँदाहुँदै मुद्दा रोक्न नपाइने भन्दै रुक्सनाले दुई वर्षपछि २०६७ सालमा सर्वोच्चमा रिट हालिन्।

यसबीच घटना देख्नेहरू डरले चुप थिए। मारिएका व्यक्तिका परिवारसमेत राजनीतिक रूपले बलिया आलमविरूद्ध बोल्न सकेनन्। रुक्सना भने धम्की र लोभलालचमा नपर्ने अड्डी कसिरहिन् । चारैतिरबाट धम्की आउन थालेपछि रुक्सना हत्तपत्त एक्लै बस्थिनन्। बाहिर हिँड्नुपर्दा सम्धिनी, अर्थात् सम्सुल मियाँकी पत्नीलाई सँगै लिएर जान्थिन्।

२०६७ कै एकदिन रुक्सना तीन किलोमिटर टाढाको माइतीबाट सम्धिनीसँग घर फिर्दै थिइन्। बाटोको उखुबारीमा लुकेका नकाबधारीले हिँडिरहेकै बखत आक्रमण गरे। मियाँकी पत्नी डराएर भागिन्। रुक्सनालाई नकाबधारीले गोली हानेर मारे।

उनलाई मार्न आलमले नै मान्छे खटाएको स्थानीय गाउँले बताउँछन्। छोराको हत्यारालाई सजाय माग गर्दा गोली खाएकी रुक्सना र उनका छोरासहित १४ जनाको हत्या अभियोगमा आलमविरुद्ध मुद्दा लैजाने प्रहरीको तयारी छ।

बम काण्डको आरोप लागेका आलम पक्राउ