काठमाडौं । बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेको भन्दै प्रहरीले प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न चिठ्ठी पठाएको केही समयमै सांसद साह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

सांसद साह पक्राउ परेको धनुषाका प्रहरी प्रमुख शेखर खनालले पुष्टि गरेका छन् । सांसद साहले समेत आफू पक्राउ परेको फेसबुक वालमा लेखेका छन् । उनले प्रहरीले आफुलाई विमानस्थलमा समात्यो भनी उल्लेख गरेका छन् ।

जहाज डिले भएको झोक सोमबार उनले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै आक्रोश पोखेका थिए । उनले आक्रोशमा गरेको तोडफोडपछि उनलाई विमानले ल्याउन मानेनन । तर, प्रमुख जिल्ला अधिकारीको अनुरोधमा बुद्धको जहाजले उनलाई काठमाडौं ल्यायो तर, विमानस्थलबाट उनी पक्राउ परे ।