एजेन्सी । खाडी मुलुक कतारले आफ्नो देशमा काम गर्ने विदेशी कामदारको न्यूनतम पारिश्रमिक दर तोकेको छ । सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन पारित भएसँगै कतारले कामदारको न्यूनतम पारिश्रमिक तोकेको हो ।

यो कानुन आउँदो जनवरीदेखि कार्यान्वयनमा आउनेछ । कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरिएको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने भएकाले यो अब कार्यान्वयनमा आउने छ ।

मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने कतारका प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले जानकारी दिएका छन् ।

निकै लामो अन्तर्राष्ट्रिय दबाबपछि कामदारका हकमा यो प्रगति भएको हो । योसँगै खाडीमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने देशमा कतार पहिलो बनेको छ । अब रोजगारदाता कम्पनीले न्युनतम ७ सय ५० रियाल दिनै पर्नेछ । यो त्यहाँका रोजगारदाताका लागि बाध्यकारी हुनेछ ।

कामका लागि अत्यधिक नेपाली जाने मध्येको देश कतारका लागि नेपाल सरकारले अदक्ष कामदारलाई न्युनतम तलब ९ सय रियाल दिनैपर्ने भनेको थियो । तर, कतार सरकारले रोजगारदाताहरुले न्युनतम ७ सय ५० रियाल मात्र दिनैपर्ने गरी कानुन बनाएको हो ।

यो निर्णयको स्वागत गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनले यसबाट कामदारको अधिकार सुनिश्चित गर्न सहयोग मिल्ने जनाएको छ । कतारमा नेपालका करिब चार लाख व्यक्ति विभिन्न ओहोदामा काम गर्दछन् ।