काठमाडौं । नेपालको पहिलो महिला सरोदबादक रुपा न्यौपानेले भारतको एक महाविद्यालयका विद्यार्थीलाई प्रेरणादायी प्रवचन दिने भएकी छन् । भारतको बनारसस्थित बसन्त महिला महाविद्यालयको निमन्त्रणामा बनारस गएकी सरोदबादक न्यौपानेले त्यहाँका छात्रालाई संगीत संगीत सिकाउनुको साथै आफ्नो संघर्ष र सफलताको कथा सुनाउने कार्यक्रम छ। उनको प्रस्तुती कात्तिक ४ गते हुनेछ ।

न्यौपानेको संघर्ष र सफलताको कथाले विद्यार्थीलाई जीवनमा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास लिएको महाविद्यालयकी प्रिन्सिपल डा. अल्का सिंहले उनलाई निमन्त्रणा गरिएको पत्रमा उल्लेख गरेकी छन् ।

सरोदबादक न्यौपानेले झण्डै तीन दशकदेखि नेपालका विभिन्न ठाउँमा गएर फलैंचा संगीत अभियान संचालन गर्दै आएकी छिन् भने उनी सरोद प्रशिक्षक पनि हुन् । सरोदको धुनमार्फत संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्नु र सरोद बाजा सबैलाई चिनाएर यसको संरक्षण गर्नु आफ्नो मुख्य उदेश्य रहेको उनी बताउँछिन् ।