काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाल भ्रमणको निम्तिो स्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र कोविन्दबीच मंगलबार जापानमा भएको भेटका क्रममा उनले नेपाल भ्रमणको निम्तिो स्वीकारेका हुन् । जापानी सम्राट् नाहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागि हुन जापान पुगेकी राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमणको निम्तिो दिइन् ।

कोविन्द राष्ट्रपति भएपछि यो पहिलो भेटघाट हो । भेटमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिए । उनले भ्रमणको निमन्त्रणा स्वीकार गरी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी समेत दिए । सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरिसकेका छन् ।

आयोजना छिट्टै बन्ने
भेटमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरियो । भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे । दुवै देशका प्रधानमन्त्रीको गएको वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ । नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ ।