ताप्लेजुङ । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली र आफूबीच कुनै खटपट नरहेको बताएका छन् । कार्यकर्ता प्रशिक्षणकालागि पाँचथर सदरमुकाम फिदिम पुगेका दाहालले पत्रकारमाझ कुरा गर्दै बाहिर मिडियामा आएजस्तो आफुहरुबीच कुनै असमझदारी नरहेकाको बताएका हुन् । उनले हल्लाको पछि नलाग्न आग्रह गरे ।

प्रचण्डले सोमबार मात्रै प्रधानमन्त्री र आफूबीच दुई घण्टासम्म बसेर छलफल भएको सुनाए । पार्टी एकताका बेला भएको समझदारी अनुसार नै पार्टी अघि बढिरहेको बताउँदै प्रचण्डले, ‘पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन नभएको भए पार्टी यो अवस्थामा आउनै सक्दैन थियो’ भने ।

मन्त्रीमण्डल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएकाले उनले चाहेकोबेला परिवर्तन हुने बताए । ‘यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो, उहाँले जतिबेला चाहनुहुन्छ त्यतिबेला परिवर्तन हुन्छ,’ प्चण्डले भने । वर्तमान सरकारले छिमेक देशहरुसँगको सम्बन्ध मजबुत बनाउँदै लगेको दाबी गर्दै दाहालले यसको उदाहरण चिनका राष्ट्रपतिको भ्रमण र भारतको अमलेखगञ्ज पेट्रोललाइन विस्तार भएको दाबी गरे ।

२५ वर्षपछि चीनका राष्ट्रपति सी जिनपिङको सफल भ्रमण हुनु र भारतबाट नेपालमा सिधै पेट्रोललाइन विस्तार हुनुले दुई देशको सम्बन्धलाइ थप राम्रो बनाएको उल्लेख गरे ।