काठमाडौं । थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले तेस्रो मैत्रीपूर्ण खेलमा हार व्यहोरेको छ । मंगलबार भएको तेस्रो खेलमा नेपाल थाइल्याण्डको यू–२१ टोलीसँग ३–० को सोझो सेटमा हारेको हो ।

नेपाललाई थाइल्याण्डको युथ टोलीले २५–१८,२६–२४ र २५–२० ले हरायो । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले यसअघिका दुई मैत्रीपूर्ण जितेको थियो ।

गएको शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टोलीलाई जरानसानिवोङलाई ३–१ को सेटमा हराएको थियो । यस्तै, आइतबार भएको दोस्रो खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टोलीलाई ३–१ को सेटमा हराएको थियो ।

अब नेपालले विहिबार जापानको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टोली थाइल्याण्डमा छ ।