काठमाण्डौ । अब नेपालको बजार अनुगमन चिनियाँ अधिकारीहरुँले पनि गर्ने भएका छन् । उनीहरुलाई बजार अनुगमनमा सहभागी गराउन संसदीय समितिले पहल थाल्ने भएको छ ।

संघीय संसद अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले बिहीबार चीनका राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङ जुन नेतृत्वको टोलीसँग सिंहदरबारमा बजार अनुगमनबारे अनुभव आदानप्रदान गरेपछि चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनका सहभागी गराउन पहल गर्ने प्रतिबद्धता जनाएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समय मिलाएर चिनियाँ अधिकारहरुसँगै संयुक्त टोली बनाएर नेपालको बजार अनुगमन गर्न पहल गर्ने निष्कर्ष बैठकमा निकालिएको पनि बताए ।

बैठकमा चिनियाँ बजार अनुगमन उपमन्त्री जुनले चिनियाँ बजारको अनुगमनको अनुभव सुनाएका थिए भने समितिका सदस्यहरुले नेपालको बजार अनुगमनबारे जानकारी गराएको थियो ।

चिनियाँ टोलीले चीनको बजार अनुगमनका लागि आउन पनि समितिका सभापति श्रीवास्तावलाई निमन्त्रणा गरेको थियो । बैठकमा दुवै पक्षबीच खाद्य सम्प्रभुताका विषयमा पनि छलफल भएको थियो ।

त्यस अवसरमा समितिका सभापति श्रीवास्तवले चीनको बजार अनुगमनको अनुभव सेयर गरेकोमा चिनियाँ प्रतिनिधिमण्डलप्रति आभार पनि व्यक्त गरेका थिए ।