काठमाडौं । नेपालमा गरिमा भनी वितरण गरिएको धानको बीउ नक्कली प्रमाणित भएको छ । डीएनए परीक्षण गर्दा किसानलाई वितरण गरिएको धान गरिमा जातको नभएको प्रमाणीत भएको हो । नेपाल कृषि अनुसन्धान परिषद नार्कले गरेको डीएनए परीक्षणमा किसानलाई वितरण गरिएको बीउ गरिमाको जातसँग नमिलेको बताइएको छ ।

बीउ नक्कली पुष्टि भएपछि सरकारले उत्पादन गर्ने भारतीय कम्पनीमाथि छानबिन गर्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने तयारी गरेको छ । भारतको रेनोभा सिड्स साइन्स ईन्डिया प्रालिले उत्पादन गरेको बीउ साउथ ईस्ट एसियन सिड कम्पनी प्रालिले ल्याएर नेपालमा बेचेको थियो । यस्तै, आयातकर्ता नेपालको कम्पनीको बीउ कारोबार इजाजतपत्र खारेज गर्न कृषि मन्त्रालयलाई सिफारिस गरिएको बताइएको छ ।

यसैगरी, राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा. युवकध्वज जिसीको अध्यक्षतामा बसेको बैठकले यो समितिलाई एक महिनाभित्र सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ ।

समितिका सदस्य सचिव बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाका अनुसार समितिमा दर्ता भएको गरिमा वर्णशङ्कर जातको धान सूचीकृत जातको सूचीबाट हटाउन सम्बन्धित मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

बैठकले दर्ता गर्दा पेश गरिएको प्रस्तावनाअनुसार बाली पाक्नुपर्ने अवधिभित्र धानमा बाला नलागी बाली उत्पादनमा क्षति भएको, यो धानको अन्य गुणसमेत दर्ता गर्दाका समयमा पेश भएको गुणसँग मेल नखाएको र नेपाल कृषि अनुसन्धान परिषद्, बीउबिजन तथा प्रविधि महाशाखाले गरिमा भनी लगाइएका बालीको नमूना लिई गरेको डिएनए फिङ्गरप्रिन्टिङअनुसार दर्ता गर्दाको अवस्थाको वर्णशङ्कर जातको धानसँग मेल नखाएको पाइएको निर्णय गरिएको उनले जानकारी दिए ।

२०७६ वैशाख ११ मा सूचिकृत बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रेनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातका वर्णशङ्कर धानको जात आयात गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो ।