मनाङ । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष लाग्दासमेत स्थानीय तह कर्मचारीविहिन भएको छ । संघिय संरचनामा देश गईसकेपछि सबै तहमा सरकारले कर्मचारीको व्यवस्थापन गर्नुपर्ने हो । तर तीन वर्ष लाग्दासमेत स्थानीय तह शिक्षकको भरमा चलाउनु परेको छ । संघिय लोकतान्त्रीक मुलुकको यो भन्दा ठूलो विडम्वना अर्को के होला । मुलुक हाँक्नेहरुले नै स्थानीय तहको जिम्मेवारी शिक्षकलाई दिएपछि कसरी सेवा प्रभावकारी होला र नेपाली जनताले खोजेको समृद्धि कस्तो होला ।

जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकामा अहिले त्यस्तै भएको छ । पालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन् । किन पालिकामा शिक्षक खटाएको भन्ने प्रश्नमा गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, ‘कर्मचारीको अभाव टार्न र जनताको काममा असर नपरोस् भनी हो ।’

उनका अनुसार गाउँपालिकामा कर्मचारीको अभाव भएको र विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी भएको हुँदा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो । जम्मा पाँच वटा वडा रहेको यस चामे गाउँपालिकामा सबै वडामा एक एक जना शिक्षकले कर्मचारीको काम गर्दै आएका छन् ।

प्रत्येक वडामा एक–एक वटा विद्यालय रहेकामा हाल गाउँपालिकाभरि जम्मा दुई वटा विद्यालय रहेको छ । विद्यार्थीविहीन विद्यालय राख्नुभन्दा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो ।

स्थानीय तहले कर्मचारीको अभाव झेल्दै आए पनि काम चलाउनका लागि शिक्षकलाई नै प्रयोगमा ल्याइएको अध्यक्ष घलेको भनाइ छ । ‘सरकारको मुख ताकेर बस्ने हो भने कार्यकाल सकिँदा पनि कर्मचारी पूरा हुँदैन । केन्द्रीय सरकार र प्रदेश सरकारको नीतिनियमको तालमेल नमिल्दा पनि स्थानीय तहलाई असर परेको छ’, अध्यक्ष घलेले भने ।

हाल शिक्षकले वडा कार्यालयमा रहेर पञ्जीकरणको काम गर्दै आएका गाउँपालिकाका कार्यकारी गङ्गाबहादुर थापाले बताए । कार्यकारी थापाका अनुसार शिक्षकहरुलाई कार्यालय सहयोगीका रूपमा राखे पनि उनीहरुले वडा सचिवको काम गर्दै आएका छन् ।