काठमाडौं । यस वर्षको शरद यामका लागि बिहीबारसम्म एक हजार ११८ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार अहिलेसम्म ४५ ओटा हिमाल आरोहणका लागि १४८ ओटा आरोहण टोलीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ८८० जना पुरुष र २२० जना महिला आरोही छन् ।

कुल ६२ देशका आरोहीले अनुमति लिइसकेको विभागले जनाएको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो सिजनमा दुईओटा आरोहण दलले अनुमति लिएका छन् ।

यसबाहेक अन्नपूर्ण थर्ड, धौलागिरि, लाङटाङ, ल्होत्से, मकालुलगायत चर्चित हिमाल आरोहणका लागि पनि अनुमति लिएको विभागले जनाएको छ ।

हिमाल आरोहणको रोयल्टीबापत मात्रै अहिलेसम्म छ करोड ३६ लाख रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै मनास्लु हिमालको आरोहण अनुमतिबापत दुई करोड ७० लाख रुपियाँ सङ्कलन भएको छ ।