धनुषा । धनुषामा सरोकारवाला निकायले पछिल्लो दुई महिनामा तीन पटक बजार अनुगमन गर्‍यो । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय धनुषा, उपभोक्ता हकहित संरक्षण मञ्च, जनकपुर भन्सार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय प्रहरीलगायतका सरोकारवाला निकायले संयुक्त रुपमा अनुगमन गरेका थिए ।

गत असोज २४ गते जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत पर्ने दर्जनौं खाना खाने होटल, कात्तिक ८ गते जनकपुर क्षेत्रमा रहेको स्टिल उद्योग, केही होटल र कात्तिक १५ गते जनकपुरकै एक पानी उद्योग गरी निकायले दुई महिनामा तीन पटक अनुगमन गरिसकेको छ ।

असोज २४ गते बजार अनुगमन गर्दा जनकपुरको राजदरबार एण्ड नवरंग रेष्टुरेण्टसहित दर्जनौं होटलमा निकै कमी कमजोरी पाइएको थियो । होटलमा म्याद नाघेका सामान, सरकारले प्रतिबन्ध गरेको पाउडर, फोहोर व्यवस्थापन नगरेको लगायतको कमी–कमजोरी पाइएको थियो ।

त्यतिबेला अनुगमनको नेतृत्वकर्ता खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रवीण तिवारीले सुधार गर्ने निर्देशन दिएका थिए तर, कारबाही नहुँदा होटलको अवस्था अहिले पनि त्यस्तै रहेको उपभोक्ताहरू बताउँछन् । त्यस दिन गरेको अनुगमनमा करिब दुई दर्जन होटलमा निकै कमी–कमजोरी पाइएको थियो ।
जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत पर्ने दर्जनौं होटलमा म्याद नाघेको सामान प्रयोगमा ल्याएको, अखाद्य वस्तु बिक्री गरेको, अधिकतम मूल्यभन्दा बढी मूल्य लिएको, राजस्व नतिरी सामान बिक्री गरेको, बिना दर्ता व्यवसायी सञ्चालन गरेको, नवीकरण नगराएको, मूल्यसूची नराख्ने, बिल नदिने, खरिद बिल नदेखाउनेलगायतको कमजोरी पाइएको थियो ।

कात्तिक १५ गते शुक्रबार भएको बजार अनुगमनमा एक पानी उद्योगमा शिलबन्दी गरिएको छ । जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित धर्मलाल मण्डलले सञ्चालन गरेको गंगाजल पानी उद्योगमा निकायले शिलबन्दी गरेको छ । उनले जारका लागि अनुमति लिए पनि बोतलका लागि अनुमति लिएका थिएनन् । दर्ता नभएको, ल्याब नभएको, म्याद नाघेको र जारमा मूल्य नदेखिएको कमजोरी पाइएको थियो । निकायले उद्योगमा शिलबन्दी गरी छिटो प्रक्रिया पुर्‍याउन निर्देशन दिएको छ ।

न सुधार न निरन्तरता
बजार अनुगमन गरी निकायले व्यवसायीभित्र रहेको कमी कमजोरी सुधार गर्ने लक्ष्य लिएको थियो । तर, पटक–पटक अनुगमन भए पनि निकायले त्यो लक्ष्य भेटाउन सकिरहेको छैन । स्रोत, साधन र जनशक्ति अभावमा लक्ष्य भेटाउन नसकेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रवीण तिवारीले स्वीकार गरे ।

‘अनुगमन हुन्छ, तर त्यसको निरन्तरता हुन नसक्दा हामीले चाहेअनुरुप बजार सुधार हुन सकेको छैन,’ उनले भने, ‘प्रत्येक व्यवसायीमा केही न केही कमजोरी पाइन्छ । त्यो सबैलाई कारबाही गर्ने कुरा भएन । कतिपयलाई सुधार गर्ने मौका पनि दिनुपर्छ। अत्यधिक कमी कमजोरी पाइएको व्यवसायीलाई कारबाही भएकै छ ।’ पछिल्लो पटकको अनुगमनमा कमी कमजोरी पाइएको व्यवसायीमा छठ पर्वपछि पुनः अनुगमन गरी फेरि पनि पहिलेकै अवस्थामा पाएपछि कारबाही गर्ने उनले जनाए ।

अनुगमनकर्तानै प्रलोभनमा परे
बजार अनुगमनकर्ता व्यवसायीको प्रलोभनमा पर्दा उपभोक्ता भने सधैं उपहासको पात्र हुने गरेको जनगुनासो छ । बजार अनुगमन गरी कमी कमजोरी भए पनि व्यवसायीलाई कारबाही नहुँदा उपभोक्ता सधैं मर्कामा पर्ने गरेका छन् । ‘अनुगमन कागजमा मात्रै सीमित भएको छ ।

कर्मचारी बजार डुल्ने र घुम्ने काम मात्रै भएको छ,’ उपभोक्ता सरोज यादवले भने, ‘औपचारिकताका लागि मात्र बजार अनुगमन भएको छ । कमी कमजोरी पाइएको व्यसायीलाई जरिवानासहित कारबाही हुनु पर्छ । मुद्दामा पनि जानु पर्छ ।’