काठमाडौँ । लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ ।
राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी राख्ने तयारीका साथ काम भइरहेको जनाएको छ । पिँधमा राख्ने माटो भक्तपुर, पनौती र सतुङ्गलबाट ल्याइनेछ ।

०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनरनिर्माणको जिम्मा प्राधिकरणले पाएसँगै कामले गति लिएको छ ।

शुरुको समयमा पुनरनिर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले पाए पनि काम हुन नसकेपछि पछिल्लो समय पुनरनिर्माणको जिम्मा प्राधिकरणले पाएको हो । प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार बालगोपालेश्वर मन्दिरको पुनरनिर्माणको काम ६० प्रतिशत सकिएको छ भने पोखरीको बाहिरी भागको काम पनि धमाधम भइरहेको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करीब पाँच वर्ष्भित्र अर्थात नेसं ७८९ ९विसं १७२५० मा सम्पन्न भएको थियो । नेसं ७९० ९विसं १७२७÷ई।सं। १६७०० मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

पुनरनिर्माणको काम पूर्णरूपमा हुन नसक्दा यस वर्षको तिहारमा पनि सर्वसाधारणले मन्दिरभित्र नै गएर बालगोपालेश्वरको दर्शन गर्न नपाउँदा बाहिर नै मूर्ति राखेर दर्शनको व्यवस्था गरिएको थियो ।