बझाङ । निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जना मजदुर मृत अवस्थामा भेटिएका छन् । उनीहरु आइतबार दिउँसो ३ बजेदेखि सुरुङभित्र फसेका थिए । फसेकाहरुको शव २४ घण्टापछि सोमबार दिउँसो ३ बजे बाहिर निकालिएको हो ।

घटना लगतै घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन नसकेपछि सोमबार काठमाडौंबाट उद्धार टोली मगाइएको थियो ।

सोमबार दिउँसो हेलिकप्टर मार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताए ।

सुरुङमा फसेर मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउद र बझाङ बुंगल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् ।

अक्सिजनको कमिका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।