बागलुङ, । चार वर्षअघि जैमिनी नगरपालिका–१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो दुई हजार २०० मा बेच्थे । अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे ।

राम्रो भाउ पाउँदा किसान खुशी थिए । अहिले अलैँचीको मूल्य घटेर प्रतिकिलो रु पाँच सय पुगेको छ । फलेको अलैँची पनि बेच्नै गाह्रो छ ।

उचित मूल्य नपाएपछि अलैँची किसान निराश छन् । राङ्खानी, माझगाउँका किसान मनबहादुर श्रीषले अलैँची खेतीबाट आफू निरुत्साहित बनेको प्रतिक्रिया दिए । “शुरुमा राम्रो भाउ पाएपछि उत्साहित भएर अलैँची खेतीतिर लागियो”,उनले भने , “अहिले त खर्च पनि उठ्न छोड्यो ।”

श्रीषले तीन रोपनी जग्गामा व्यावसायिक अलैँचीखेती गर्दै आएका छन् । यो वर्ष उनकोमा १०० किलो काँचो अलैँची उत्पादन भएको छ ।

उक्त अलैँची सुकाउँदा २५ किलो जति ठहर्ने श्रीषको भनाइ छ । काँचो अलैँची बेच्दा भने प्रतिकिलो १०० पर्छ । राङ्खानी, पाहीका अगुवा अलैँची किसान केदार शर्माले गाउँभरिको अलैँची खरिद गरेर बाहिर बेच्दै आएका छन् ।

राङ्खानीमा १५ बढी किसानले व्यावसायिक अलैँचीखेती गरिरहेका छन् । घरायसी प्रयोजनका लागि लगाउने किसानको सङ्ख्या भने धेरै छ
मूल्य घटेपछि अलैँचीखेतीतर्फ किसानको आकर्षण घट्दो छ । अलैँची खेतीमा नयाँ किसान थपिन सकेका छैनन् ।

अलैँचीको खेतीमा लाग्ने मेहनत र श्रम अनुसारको मूल्य पाउने वातावरण बन्नुपर्ने किसान बताउँछन् ।

कृषि ज्ञान केन्द्र, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले अलैँचीको बजार व्यवस्थापन हुन नसकेको बताए । “विदेशमा नेपाली अलैँचीको माग बढ्दो छ, बाहिर मूल्य पनि राम्रो छ”, उनले भने, “सीमित भारतीय व्यापारीको एकाधिकारले गर्दा नेपाली किसानले उचित मूल्य पाउन सकेका छैनन् ।”

रेग्मी बताउ छन् । भारतबाहेक अन्य मुलुकमा पनि अलैँची व्यापारका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालमा उत्पादित अलैँची पूर्वी नाका हुँदै भारत निर्यात हुने गरेको छ । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वे्दिक औषधिलगायतमा प्रयोग हुने गरेको छ ।