कालिकोट । भारतले नेपाली भू–भाग मिचेको भन्दै कालिकोटमा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्। अनेरास्वीयू, राष्टि«य युवा संगठन, नेविसंघ, राप्रवि संघलगायतका विद्यार्थी संगठनले नेपाली भू–भाग भारतीय नक्सामा पारेकोविरुद्ध प्रदर्शन गरेका हुन् ।

‘गो ब्याक इण्डिया’ लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो, भारतीय हष्तक्षेप बन्द गर, नेपालको सिमाना मिच्ने काम बन्द गरलगायतका नारा लगाउँदै उनीहरुले जिल्ला सदरमुकाम मान्ममा प्रदर्शन गरे ।

विरोध सभामा विद्यार्थी नेताले भारतको ज्यादति र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिए । विद्यार्थी नेता भिमप्रसाद आचार्य, धिरेन्द्र आचार्य, प्रमानन्द आचार्य, अमित शाही, राकेश शाही, हिक्मत मल्ललगायतका नेताहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरे ।

भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौंदेखि गरिरहेको भन्दै भारतीय विस्तारवादको डटेर सामना गर्नका लागि तयार रहन सबैलाई आग्रह समेत गरे । सधैं पार्टीका झण्डा बोकेर सडकमा देखिने विद्यार्थी नेताहरु यस पटक नेपालको राष्ट्रिय झण्डा लिएर सडकमा देखिए ।