काठमाडौं । नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा खारेज गर्नुपर्ने माग गर्दै सत्ताधारी दल निकट विद्यार्थीले शुक्रबार नेपालस्थित भारतीय दुतावास घेराउ गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीले दुतावास घेरेका हुन् । लैनचौरस्थित अमृत साइन्स क्याम्पस अगाडी भेला भएका विद्यार्थी नारा जुलुस गर्दै दुतावास पुगे ।

भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी आफुतिर गाभेको भन्दै नेपालमा तीब्र विरोध भइरहेको छ । नक्सा सार्वजनिक भएपछि विद्यार्थीले त्यसलाई सच्याउन माग गर्दै आन्दोलन थालेका हुन् । घेराउ पछिको कोण सभालाइ सम्बोधन गर्दै अनेरास्ववियूका संयोजक ऐन महरले नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा तत्काल खारेज गर्नुपर्ने बताए ।

‘अन्यथा जस्तो सुकै आन्दोलन गर्न पनि पछि पर्दैनौ’–महरले चुनौतीको स्वरमा भने । दुतावास घेराउ कार्यक्रम शान्तिपूर्ण रहेको अनेरास्ववियुकी प्रतिनिधि सुनिता बरालले बताइन्।

नेपाली भूमि समेटेको नक्सा भारतले सार्वजनिक गरेसंगै विद्यार्थीले ‘गो ब्याक इन्डिया’मा ‘ह्यास ट्याग’ गरेर सामाजिक सञ्जालबाट अभियान समेत चलाएका छन् ।

नक्सा नसच्याए थप आन्दोलनमा उत्रने उनीको चेतावनी छ । आन्दोलनरत विद्यर्थीले लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, कागजी अतिक्रमण मुर्दावाद, कहिले बुद्ध कहिले सीमा, कसले गर्ने हाम्रो बीमा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरे । अब २४ गते परराष्ट्रमन्त्री र २५ गते नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको अनेरास्ववियूका नेता आरसी लामिछानेले जानकारी दिए।