डडेल्धुरा । मेडिकल कलेजले विद्यार्थीसँग असुलेको बढी रकम फिर्तालगायत माग राख्दै अनसन बसेका डा. गोविन्द केसीसँग सरकारले वार्ताको चासो देखाएको छैन । अनशनको पाँचौ दिन भइसक्दा सरकारी चासो नदेखिएको हो । १७औँ पल्ट अनसन बसेका डा. केसीको स्वास्थ्य बिग्रिँदै गएको छ । यो पल्ट केसी डडेल्धुरामा अनसन बसेका छन् ।

डा. केसीको स्वास्थ्य अस्थिर देखिएको उपचारमा संलग्न चिकित्सक डा. जितेन्द्र कँडेलले बताए । रक्तचाप तलमाथि भइरहेको र वुधबारदेखि पिसाबमा बढेको एसिटोनको मात्रा नियन्त्रणमा नआएको उनले बताए । चिसोका कारण स्वास्थ्य समस्या बढेको उनले बताए । केसी सदरमुकामस्थित डडेल्धुरा अस्पताल नजिकै निर्मल क्लिनिक रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका छन्।

छाया सरकारका गृहमन्त्रीले भेटे
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीको अनसनबारे सरकारले चासो नदिँदा विपक्षी दलले गठन गरेको छाया सरकारका गृहमन्त्रीले केसीलाई भेटेका छन् । डा. केसीलाई मुख्य विपक्षी दल कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री समेत रहेका दिलेन्द्रप्रसाद बडूले भेटेका हुन्। शुक्रबार दिउँसो केसीलाई भेटेर उनले अनशनप्रति ऐक्यबद्धता जनाए । उनले केसीको अनशनप्रति सुरुदेखि नै कांग्रेसको समर्थन रहेको बताए। केसीले उठाएका मेडिकल शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र सबैले पढ्न सक्ने बनाउनुपर्छ भन्ने माग जायज भएको नेता बडूले बताए। उनले मागहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।

मेडिकल कलेजहरु अहिले पनि तोकेको शुल्कभन्दाब बढी लिइरहेको छन्। तर बढी लिएको शुल्क फिर्ता गर्न तयार छैनन्,’ उनले भने, ‘सरकार हामी फिर्ता गराउँछौँ भन्छ तर गराउन सकिरहेको छैन।’ बडूले दुईतिहाइको वर्तमान सरकार गरिब विद्यार्थीको हितमा नभएको आरोप लगाए। काठमाडौँ गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई केसीले अघि सारेका ७ बुँदे मागबारे जानकारी गराउने उनले बताए। ‘२५ गतेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको छ। त्यहाँ प्रधानमन्त्रीज्यू पनि आउनुहुन्छ,’ बडूले भने, ‘उहाँलाई डा. सापले उठाएका माग सम्बोधन गर्न आग्रह गछौँ।’

ऐक्यबद्धता बढ्दै
डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरुले सत्याग्रहस्थल पुगेर डा. केसीलाई भेटेर ऐक्यबद्धता जनाइरहेका छन्। यसअघि डोटीका विभिन्न ५ वटा संघसस्थाले ऐक्यबद्धता जनाए डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा वुधबार डडेल्धुरा पुगेको टोलीले डा. केसीले राखेका मागमा ऐक्यबद्धता जनायो उद्योग वाणिज्य संघसँगै गैरसरकारी संस्था महासंघ डोटी, शैलेश्वरी यातायात व्यवसायी संघ डोटी, होटल व्यवसायी संघ डोटी र त्रिवी प्राध्यापक संघ डोटीले डा. केसीका माग पूरा गर्न सरकार समक्ष माग पनि गरेका छन्। सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै केसीले उठाएका माथ जनताको पक्षमा रहेको उल्लेख गरिएको छ। अघि सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाए ।