काठमाडौं । नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा भारत र पाकिस्तानले क्रिकेट नखेल्ने भएका छन् । नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको खेल तालिका अनुसार भारत र पाकिस्तानले क्रिकेटमा टोली दर्ता गराएका छैनन् ।

विश्व क्रिकेटका दुई ठूला चीर प्रतिस्प्रर्धी राष्ट्र साग क्रिकेटमा सहभागी नहुने भएका हुन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै फुटबल स्पर्धामा बंगलादेशले नखेल्ने भएको छ । बंगलादेश बाहेकका राष्ट्रले फुटबल स्पर्धामा सहभागिता जनाउन टिम दर्ता गराएका छन् ।

ओलम्पिक कमिटिमा दर्ता भएको खेल तालिका अनुसार आयोजक नेपालले मात्र सम्पुर्ण २७ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

प्याराग्लाईडिङको खेल नहुने

टिम संख्या नपुगेपछि प्याराग्लाईडिङको खेल नहुने भएको छ । आयोजक नेपाल मात्र प्याराग्लाईडिङ खेल्न तयार भएपछि यो खेल नहुने भएको हो ।

नेपालले प्याराग्लाईडिङमा पदकको ठुलो आशा गरेको थियो । अब १३औँ सागमा मात्र २६ खेल हुनेछन् ।