काठमाडौं । १३५औँ फाल्गुणानन्द जयन्ती । राष्ट्रिय विभूति फाल्गुणानन्द लिङ्देनको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुणानन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको हो ।

२००५ साल चैत २२ गते पाँचथरको सिलौटीमा उहाँको निधन भयो । किराँत समुदायमा मांसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिएको सन्देशका कारण उहाँलाई महान समाज सुधारक भनी चिनाइएको छ । उहाँको योगदानको कदर गर्दै २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रि विभूति घोषणा गरेको छ ।
पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिएको छ ।

फाल्गुणानन्द जन्मजयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् । राष्ट्रपति भण्डारीले फाल्गुणानन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता एवं सद्भाव कायम गरेर राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएकी छन् ।

यस्तै, मूली शासक अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देशसँगै फाल्गुणानन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने आवश्यकता देशवासीलाई सुनाएका छन् ।

प्रधानमन्त्री ओलीले ती ठाउँमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै फाल्गुनन्दको जन्मभूमि चुक्चीनाम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।