काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको सद्भावना भ्रमणले द्विपक्षीय तथा उपक्षेत्रीय आर्थिक सहकार्यको सशक्तीकरणरमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा सरकारले गरेको छ ।

सरकार यो पनि भन्छ–‘नेपाल र बंगलादेशबीच व्यापारका अतिरिक्त ऊर्जा, पर्यटन, लगानी, पारवहनका क्षेत्रमा सहकार्य गर्ने प्रयास भइरहेको छ।’ नेपाल र बंगलादेशले भारतसँग मिलेर ऊर्जा व्यापार, पारवहन तथा ‘मोटर भेहिकल एग्रिमेन्ट’ कार्यान्वयनमार्फत उपक्षेत्रीय सहकार्यलाई अघि बढाउन सक्ने ठाउँ देखाइएको छ ।

र, सरकार ढाका–काठमाडौं बस सेवा सञ्चालन गर्न भएको पत्र आदानप्रदान (लेटर अफ एक्स्चेन्ज)लाई कार्यान्वयनमा लैजान पनि बंगलादेशी महामहिमको भ्रमण फलदायी हुने भरोसामा छ । यहि भ्रमणको शिलशिलामा सम्झौता हुने सम्भावना रहेको कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु सुनाउँछन् ।

दुई मुलुकबीच ऊर्जा सहायता सम्झौता अघि बढाउन दुवै देशलाई लाभको अवस्था सिर्जना हुन सक्ने आशा देखाइएको छ । नेपाल र भारत तथा भारत र बंगलादेशबीचको द्विपक्षीय बैठकमा तीन देशबीच ऊर्जा व्यापारलाई सहजीकरण गर्ने सम्बन्धमा छलफल भइनै रहेकोछ । नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन पूर्वाधारले बंगलादेशसम्म नेपालको विद्युत् व्यापार सम्भव रहेको कुरा सरकारले यसअघि नै सुनाइसकेको छ । भारत र बंगलादेशबीच पनि यसअघि देखि नै ऊर्जा व्यापार हुँदै आएको छ। बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको दुई वर्षअघि भएको भारत भ्रमणका क्रममा नेपालमा माथिल्लो कर्णालीको विकासकर्ता जीएमआर इनर्जी इण्डिया र बंगलादेशको ‘पावर डेभलपमेन्ट बोर्ड’ बीच विद्युत् खरिद सहमति भएको छ।

बंगलादेशमा अहिले विद्युत्को उत्पादन १६,००० मेगावाट रहेको छ। सन् २०३० सम्म ३४,००० मेगावाट विद्युत् माग हुने प्रक्षेपण छ। बंगलादेश नेपालले जलविद्युत् उत्पादन गरेर स्वच्छ, नवीकरणीय र विश्वासिलो ऊर्जा आपूर्ति गरोस् भन्ने चाहान राखिरहेको छ। तर, नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय सहकार्यले मात्रै नेपालमा उत्पादित विद्युत् बंगलादेशी बजारसम्म पुग्न सक्छ।

प्रयास
बंगलादेशी राष्ट्रप्रमुखको भ्रमणअघि नेपाल र बंगलादेशबीच सघन आर्थिक सहकार्यका लागि महत्त्वपूर्ण सम्झौता भएका छन्। नेपाल र बंगलादेशका ऊर्जा मन्त्रीले गत वर्ष साउनमा ऊर्जा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । लामो समयदेखि थाती रहेको नेपाल र बंगलादेशबीचको दोहोरो कर उन्मुक्तिको सम्झौता हालै सम्पन्न भएको छ। दुई देशबीच यहि महिनाको पहिलो साता भएको व्यापारवार्तामा द्विपक्षीय हितमा व्यापार सम्झौता, पारवहन र मल्टिमोडल कनेक्टिभिटी अघि बढाउने सहमति भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार बंगलादेशले नेपाललाई मंगला बन्दरगाह, चट्गाउँका अतिरिक्त चार सुक्खा बन्दरगाह प्रयोगका लागि सन् १९७६ को व्यापार तथा पारवहन सम्झौताबाट अनुमति दिएको हो। बंगलादेशको बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकसँग व्यापारका लागि रोहनपुर (बंगलादेश)–सिंहवाद (पश्चिम बंगाल, भारत) रेलमार्गको उपयोग गर्ने सम्बन्धमा पनि लामो समयदेखि छलफल हुँदै आएको छ।

बंगलादेशसँगको व्यापारलाई लक्षित गर्दै नेपालले काँकडभिट्टाको सुक्खा बन्दरगाहलाई स्तरोन्नति गरेको छ। काँकडभिट्टादेखि फूलबारीसम्मको ३० किमिको दूरीमा मालबहाक ट्रक तथा बस सञ्चालनलाई सरलीकरण गर्न दुवै देशले भारतसँग पहल गर्दै आएका छन्। ‘चिकेन नेक’ भनिने काँकडभिट्टादेखि फूलबारी (बंगलाबन्ध)सम्मको नेपाल बंगलादेशबीच छोटो दूरीको यो भूभागलाई भारतले सुरक्षा संवेदनशीलता देखाउँदै मालबहाक सवारीको निर्वाध आवतजावतलाई प्रभावित बनाएको छ।

नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानअनुसार नेपालले तेस्रो देशलाई बजार पहुँचमा दिएको सुविधा भारतले स्वतः पाउने उल्लेख छ। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। कुल आयातको ६५ प्रतिशत भारतबाट आयात हुने हुँदा नेपालले द्विपक्षीय बजार पहुँचका लागि अन्य मुलुकलाई दिए सरह सुविधा भारतलाई दिन सक्दैन।

नेपाल र भारतबीच वाणिज्य सन्धि नवीकरणको प्रक्रियामा रहेकाले नेपालले तेस्रो मुलुकलाई दिएको सुविधा भारतलाई दिन बाध्यकारी नहुने व्यवस्था समावेश गरी व्यापार विविधीकरण गर्न सक्ने कुरा छ । पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा एकअर्को देशका बजारमा सहज प्रवेशका लागि पहल गर्न सकिने बताउँछन्। नेपालले विगत वर्षमा बंगलादेशसँगको व्यापार नाफा रहँदै आएको भए पनि पछिल्ला वर्षमा भने घाटाको स्थितिमा आइपुगेको छ। बंगलादेशबाट नेपालले तयारी पोसाक, जुस, प्लास्टिकका भाँडालगायत वस्तु आयात गर्दै आएको छ। नेपालबाट बंगलादेश निकासी हुने मुख्य खाद्य सामाग्रीको रूपमा मुसुरोको दाल थियो । तर, बंगलादेशले आफैं उत्पादन बढाएसँगै दाल निकासीमा कमी आउँदा व्यापारघाटा बढेको छ । बंगलादेशसँग मात्रै नेपालको २ अर्ब बढी व्यापार घाटा छ ।

तयारी पोसाक निर्यातमा विश्वबजारमा प्रतिस्पर्धी देखिएको बंगलादेश चीनपछि विश्व बजारमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने राष्ट्र हो। बंगलादेशको अर्थतन्त्रको सबैभन्दा सशक्त तयारी पोसाक उद्योगले वार्षिक ३० अर्ब अमेरिकी डलरको निर्यात गर्दै आएको छ।

केही महिनाअघि बंगालादेशी निर्यातकर्ताले काठमाडौंमा स्थापना गरेको तयारीपोसाकको आउटलेटको उद्घाटन गर्दै बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सले नेपालले तयारी पोसाक उद्योगमा लगानी भित्र्याउन पहल गर्नुपर्ने बताईन् । राजदूत साम्सले बंगलादेशको लगानी र प्रविधिले नेपालले तयारीपोेसाक र मूल्य शृंखलामा आधारित यसका सहायक उद्योग विस्तार गर्न सक्ने उल्लेख गरेकी थिइन्। यसका अतिरिक्त बंगलादेशको प्रमुख जुस निर्यातकर्ता प्रान जुसले नेपालमै उद्योग स्थापना गरेर उत्पादन गर्न छलफल अघि बढाइरहेको छ। बंगलादेशका प्रतिस्पर्धी यी उद्योग नेपालमा भित्र्याउन सके यसले नेपालमा उत्पादन विकास र रोजगारी सिर्जनामा योगदान गर्नेछ।

क्षेत्रीय वा उपक्षेत्रीय आर्थिक सहकार्य मुस्किल
सरकारले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको सद्भावना भ्रमणले उपक्षेत्रीय आर्थिक सहकार्यको सशक्तीकरणरमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा राखे पनि अर्थविदहरुले त्यस्तो क्षेत्रीय वा उपक्षेत्रीय अपेक्षा महत्वकांक्षा मात्रै हो भनेका छन् ।

अर्थशास्त्री एवं वरिष्ठ अर्थविद् प्राध्यापक डा. चन्द्रमणि अधिकारीले उपक्षेत्रीय आर्थिक सहकार्य हुनलाई साझा एजेण्डाहरुमा छलफल हुनु पर्ने बताए । उनले भने, ‘सद्भावना भ्रमणमा उपक्षेत्रीय आर्थिक सहकार्यको गुञ्जायस आउँदैन । सार्क कै कुरा गर्ने हो भने सार्क निष्क्रिय छ । विम्स्टेकमा पनि त साझा अवधारणका लागि सबै तयार हुनु परेन । बंगलादेशले नेपालबाट विजुली लैजाने कुरा पनि त कहाँ सजिलो छ र ? भारतले अवरोध नगर्ने कुराको ग्यारेन्टिका कठिनाईदेखि भारत र बर्माको भन्दा सस्तो विजुली निर्यात गर्नुपर्ने कुरा चुनौतीपूर्ण नै छ ।’ मूल कुरा नेपालमा पर्याप्त र कम लागतको विजुली उत्पादनको प्रबन्ध नभएसम्म र त्रीदेशीय साझेदारीको ट्रान्सिमिसनलाईन निर्माण नभएसम्म विजुली बेच्चेबारे राखिएको महत्वकांक्षा सार्थक हुँदैन ।

डा. अधिकारीले अगाडि थपे, ‘सार्कको निष्क्रियतालाई कोट्याउँदै अहिले दक्षिण एसियाली खेलकूद (साग)को क्रिकेटमा त भारत र पाकिस्तान सहभागि नहुने भनिरहेका छन् । राजनीतिक असझदारी बढिरहेको छ । विभिन्न चुनौतीहरु छन् । यस्तो बेला धेरै ठूला महत्वकांक्षा राख्नु भन्दा पनि व्यापारघाटा कम गर्ने र अहिलेको अवस्थामा बंगलादेशसँग गर्न सकिने द्विपक्षीय व्यापार तथा लगानीका सन्दर्भमा छलफल एवं सहकार्य गर्न सकिन्छ ।’

तत्कालको सम्भावना
डा. अधिकारीका अनुसार तत्काललाई बंगलादेशमा जडिबुटी, पानी र कृषि उपजहरु पठाउन सकिन्छ । कारणः बंगलादेश समुद्री क्षेत्र र सम्म परेको भू–भाग बढी भएको क्षेत्र हो, जहाँ स्नोफलबाट बगेर आएको पानी बिक्न सक्छ । उनले अगाडि भने, ‘त्यति मात्रै होइन, यहाँको हावापानीमा उत्पादन भएका कृषि उपजको स्वाद फरक हुन्छ । अनि, कपडा उद्योग सञ्चालनका लागि लगानी ल्याउन सकिन्छ ।’ विजुलीमा सम्भावना भए पनि प्रक्रिया लामो छ भने कठिनाई धेरै छन् । कारणः अहिले नेपालमा २ दर्जनबढी जलविद्युत आयोजना रुग्ण भएर बसेका छन् । जलाशययुक्त आयोजना अन्योल र विवादमा छन् । अर्कोतिर, उत्पादन लागत घट्ने भन्दा पनि बढ्दै गएको छ । त्यसैले, अर्थशास्त्री डा. अधिकारी विजुलीलाई लिएर बंगलादेशसामु धेरै उत्साही हुन जरुरी छैन भन्छन् ।