काठमाडौं । २०७२ सालमा सल्यानको जिल्ला कृषि कार्यालयले गरेको एक अध्ययनले जिल्लाको अघिकांश माटोमा अत्यधिक अम्लीयपना रहेको प्रतिवेदन निकाल्यो । त्यसको एक वर्षपछि रूपन्देही जिल्लाले पनि माटोको उर्बरा शक्तिको परीक्षण गरेको थियो । र, त्यो बेला गुणस्तरीय माटोका लागि प्रांगारिक स्रोत २ देखि ५ प्रतिशतसम्म हुनुपर्नेमा त्यहाँको खेतीयोग्य माटोमा पोषकतत्वमध्ये क्षारीय, नाइट्रोजन, प्रांगारिक पदार्थ र फसफोरसको मात्रा अति कम पाएको विवरण सार्वजनिक गरियो । त्यहाँको माटोमा पोटासको मात्रा पनि कम पाइएको थियो । त्यस्तै, ४६ प्रतिशत नाइट्रोजन भएको युरिया मलको एकोहोरो प्रयोगले इलामको माटोमा उत्पादकत्व घटेको इलाम जिल्लाका कृषि प्राविधिकले अर्काे तथ्यांक सार्वजनिक गरिदिए ।

माथिका केही उदाहरणहरू उत्पादनशील माटोमा देखिएको भयावह स्थितिको संकेत हो । यस्तो भयावह स्थिति हुँदा पनि हामीले चेतेका छैनौं । सरकारले आर्थिक वर्ष २०७६–०७७ मा रासायनिक मल आयातका लागि नौ अर्ब बजेट छुट्याएको छ । सो बजेटबाट चारदेखि पाँच लाख मेट्रिक टन मल आयात गर्न सकिने कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । माटोको अदृश्य रूपमा हत्या गरिरहेको यो रासायनिक मलका लागि सरकारले अर्बाैं रुपैयाँ खर्च गरिरहेको छ भने किसानहरू अल्पकालीन फाइदाको लागि आफ्नै खुट्टामा बन्चरो हान्न बाध्य छन् ।

पछिल्लो समय पर्याप्त मात्रामा रासायनिक मलको प्रयोग गर्नाले माटोमा नाइट्रोजन र फसफोरसको मात्रामा कमी आएको कृषि मन्त्रालयका माटो विज्ञ गंगा आचार्यले जानकारी दिए । यो रासायनिक मलको प्रयोगले मात्रै नभएर प्रांगारिक मलको कमीका कारण पनि भएको उनले जनकारी दिएका छन् । हामीले प्रयोग गर्ने रासायनिक मलका कारण विभिन्न किसिमका रोगहरू आउने गरेको छ । झारपातबाट बन्ने मलको अभाव हुन थालेकाले यो समस्या भित्रिएको उनले बताए ।

आचार्यका अनुसार माटोमा पोटासको मात्रा कमी भएमा बालीको रोग प्रतिरोधात्मक क्षमता घट्दै जान्छ । त्यस्तो अवस्थामा तत्कालै किसानलाई सो बारेमा जानकारी दिनुपर्छ । माटो परीक्षणलाई पिएच मानमा परीक्षण गर्ने गरिन्छ । माटो विज्ञहरूका अनुसार गुणस्तरीय माटोमा ६.६ देखि ७.५ पीएच, प्रांगारिक पदार्थ दुईदेखि ५ प्रतिशत, नाइट्रोजन ०.१ देखि ०.२२ प्रतिशत, फसफोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १११ देखि २८१ किलो प्रतिहेक्टर हुनुपर्छ । तर, विभिन्न जिल्लामा गरिएको परीक्षणबाट माटोमा अम्लीयपन ५५.४६ प्रतिशत, हल्का अम्लीयपन ४३.७० प्रतिशत र तटस्थ माटो ०.८४ प्रतिशत मात्रै पाइएको छ ।

खेती गर्न ६.५ देखि ७.५ पीएच भएको माटो मात्रै उपयुक्त हुन्छ । यस्तो माटो ४३.७० प्रतिशतमा भेटिएको छ । माटो परीक्षण गराउँदा ७.५ भन्दा माथि पीएच भेटिए त्यस्तो माटोमा क्षारीयपन बढी हुने र खेतीका लागि अनुपयुक्त हुनेगर्छ ।

पिएच भनेको अम्ल र क्षारको अवस्था मापन गर्ने एक किसिमको विधि हो । कुनै पनि माटोमा ६.५ प्रतिशतभन्दा कमी पिएचमान आएको माटोमा अम्लीयपना हुने र ७.५ प्रतिशतभन्दा बढी पिएचमान आएमा उक्त माटोमा क्षारीय भएको मानिने गर्छ । अम्लीयपना वा क्षारीय दुबै भएको माटोमा उब्जनी कमी हुने र तटस्थ माटोमा भने उब्जनी राम्रो हुने कृषि वैज्ञानिकहरू बताउँछन् ।

हरित क्रान्तिपछिको असर

दोस्रो युद्धपछि सुरु भएको हरित क्रान्तिले भारतमा रासायनिक मलको अन्धाधुन्ध प्रयोग बढायो । त्यसैको सिको टिपेर नेपालले पनि यसको अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गर्न थाल्यो । देशभर हजारौं गाईवस्तुलाई छाडा छाडेर हामीहरू दुई गुणा उत्पादन हुने लोभमा अर्बौं रुपैयाँको रासायनिक मल खरिद गर्न थाल्यौं । त्यसैको परिणामस्वरूप माटोका लागि अग्र्यानिक एवं पौष्टिक मलको ठाउँमा तत्कालीन फाइदा हेर्दा हाम्रा कृषियोग्य माटोको उत्पादन क्षमता निकै कमजोर भएको छ । अग्र्यानिक मललाई पश्रय दिनभन्दा तत्कालीन फाइदाका लागि सरकारले पनि रासायनिक मलको विज्ञापन गर्छ । आर्थिक वृद्धिको तत्कालीन लक्ष्य पूरा गर्न दीर्घकालीन रूपमा माटोको गुणस्तरमाथि खेलवाड गर्ने सरकार र थोरै परिश्रमबाट धेरै फलको अदूरदर्शी आशा राख्ने किसानका कारण पछिल्लो समय माटोको गुणस्तर चिन्ताजनक अवस्थामा पुगेको हो । गड्यौलालाई किसानका साथीहरू भनिन्छ, गड्यौला पाइने माटोलाई नै स्वस्थ माटोको प्रतीक मान्ने हामीहरूको पुरानो तरिका हो । तर, यही रासायनिक मलको प्रयोगका कारण गड्यौलाहरू लोप हुने अवस्थामा छन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारी उत्पादनको हिसाबले नेपालको सहरी भेग आसपासका जमिनहरू मृत भइसकेको बताउँछन् । उनी त्यही व्यक्ति हुन्, जसले सरकारले आफैं रासायनिक मलको उद्योग सञ्चालन गर्नेभन्दा नेपालमा सो कारखानाको आवश्यकता छैन भनेर विरोध अभियान चलाएका थिए । रसायनिक मल हालेर बढाएको उत्पादन भनेको रक्सी खाएको मानिसले धेरै तौल उठाउन सकेको जस्तै हो भन्दै अधिकारीले माटोको स्वास्थ्यका लागि रासायनिक मलको प्रयोग तत्काल बन्द गर्नुपर्ने बताए । पाँचखाल, धादिङ जस्ता सहरी क्षेत्र नजिकका माटो जर्जर भइसकेको भन्दै उनले जति धेरै मल हाल्दा पनि उत्पादन नबढ्ने स्थितिमा त्यहाँको माटो पुगिसकेको बताए ।

के हो रसायनिक मलमा सरकारको स्वार्थ ?

चालू आर्थिक वर्षको कूल जीडीपीमा कृषि क्षेत्रको योगदान साढे २८ प्रतिशत रहने अनुमान गरेको छ । यो तथ्यांक पूरा गर्न दीर्घकालीन विकासले सम्भव छैन । त्यसैले नौ अर्ब रुपैयाँ अनुदानको रासायनिक मल किनेरै भए पनि आर्थिक बृद्धिको लक्ष्य पूरा गर्ने तयारी गरेको छ । सरकारले साढे ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको छ । त्यसका लागि प्रांगारिक मलको नभई सरकारले रासायनिक मलको उद्योग नै खोल्ने तयारी गरेको थियो ।

पाँच वर्षमा ११ लाख १५ हजार मेट्रिक टन युरिया, ८ लाख २० हजार मेट्रिक टन डीएपी, ५५ हजार मेट्रिक टन पोटास मल खरिद गर्नुपर्ने अवस्थालाई हेर्दै सरकारले रासायनिक मल कारखाना खोल्ने भनेर धेरै वर्ष अघिदेखि सरकारले योजना बनाएको थियो । त्यसको अहिलेसम्म प्रक्रिया अघि बढेको छैन । सरकारले यस्तो निर्णय गरेपछि माटोको अवस्थाबारे प्रश्न उठाउँदै रासायनिक मलतिर ध्यान नदिन धेरैले सुझाव दिए । उद्योग खोल्ने सरकारको निर्णयविरुद्ध धेरैले विरोध पनि गरे । तर, सरकार दुईवटा कारणले अघि बढ्न नसकेको मन्त्रालय स्रोतले जनाएको छ । पहिलो त, भारत र चीनले यहाँको रासायनिक मल नकिन्ने भएकाले नेपालको मात्रै उपभोगले उद्योग सञ्चालन गर्न गाह्रो छ । दोस्रो समस्या बिजुलीको अपर्याप्तता हो । यही दुई कारणले सरकारले अहिलेसम्म उद्योगको प्रक्रिया अघि बढाएको छैन ।

के हो माटोको स्वास्थ्य ?

माटोविद्हरू पृथ्वीमा बिरूवा र जैविक विविधताको अस्तित्व माटोको स्वास्थ्यमा निर्भर हुने बताउँछन् । जसरी एउटा आमाको स्वास्थ्यको आधारमा बच्चाको शारीरिक वृद्धि हुने गर्छ । त्यसरी नै कृषि व्यवसायको प्रवद्र्धन माटोमा पूर्ण रूपमा निर्भर हुने गर्छ । माटो उत्पादन एक जटिल र निरन्तर प्रक्रिया हो । पुरानो चट्टान, मौसम, वनस्पति, भूजल, र जीवाणुलगायत थुप्रै कारकहरूले माटोको प्रकृति तोक्छ । स्थानीय राहत, हाइड्रोलोजिकल अवस्था, माटो संरचनाले माटोका विशेषताहरू निर्धारण गर्छ । तर, यी सबैमा, मौसमले माटोको गठनको विभिन्न प्रक्रियाहरू जस्तै पत्र लेखन, डिमेनेरलाइजेसन, क्यालसिफिकेसन, खारा, क्षारीकरण इत्यादि निर्धारण गर्न सक्रिय भूमिका खेल्छ । माटोमा जैविक पदार्थ ५ देखि १० प्रतिशत, खनिज पदार्थ ४० प्रतिशत, पानी २५ प्रतिशत, हावा २५ प्रतिशत मिलेर माटो बनेको हुन्छ ।

माटोमा कस्तो फाइदा गर्छ नाइट्रोजनले ?

अहिले हाम्रो माटोमा निकै कम भएको नाइट्रोजन माटोको लागि निकै उपयोगी पदार्थ हो । नाइट्रोजनबाटै माटोमा प्रोटिनको उत्पादन हुन्छ । यसले फसलको पात हरियो बनाउनमा मद्दत गर्छ । नाइट्रोजनले बोटको वृद्धि र विकासमा योगदान गर्ने गर्छ । यसले बोटहरूलाई गाढा हरियो रंग बनाउन मद्दत गर्छ । यसले वनस्पति विकासमा पनि मद्दत गर्छ । यसले दाना निर्माणमा पनि योगदान दिन्छ ।