रुपन्देही । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो चरणको काम गर्न १० अरब रुपिँया लाग्ने भएको छ । दोस्रो चरणको काम गर्ने तयारी अघि बढाइरहेको नागरिक उड्डयन प्राधिकरणले यो कामका लागि १० अरब खर्च लाग्ने अनुमान गरेको हो ।

लागत अनुमान गरिसकेको प्राधिकरणले यो आर्थिक वर्षभित्र ठेकेदार छान्न टेन्डर आब्हान गरिसक्ने योजना बनाएको छ। पहिलो चरणको निर्माणमा लगानी गरेको एसियाली विकास बैंक (एडीबी)बाटै ऋण लिने सरकारले तयारी गरेको छ। यसका लागि अर्थ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छलफल गरिरहेका छन्।

पर्यटनमन्त्रालयका अधिकारीहरु, ‘दोस्रो चरणको आयोजनामा पनि लगानी गर्न एडिबी तयार छ। ऋण दिन उनीहरुलाई कुनै समस्या छैन। तर हाम्रो तर्फबाट आयोजनाको विस्तृत विवरण तयार भएर आउने वित्तिकै ऋण सम्झौता हुन्छ’ भनिरहेका छन् ।

डिजाइन तथा आयोजनाको विस्तृत विवरण तयार पार्न प्राधिकरणले परामर्शदाता नियुक्तीको प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवका आयोजना हेर्ने निर्देशक प्रदिप अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार परामर्शदाताले प्रतिवेदन दिएपछि आयोजना निर्माणका लागि टेन्डर तयार हुने छ।

पहिलो चरणको काम सकिएपछि विमानस्थलले वर्षमा करिब ४ लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिन सक्नेछ। नयाँ टर्मिनल र समानन्तर धावनमार्ग बनेसँगै विमानस्थलको क्षमता विस्तार हुने छ। यो विस्तारपछि विमानस्थल ४० लाख यात्रुलाई सेवा दिने क्षता राख्ने बताइएको छ ।

पहिलो चरणको काम सन् २०२० को जनवरीमा सकिने प्राधिकरणले जनाएको छ। धावनमार्ग, टर्मिनल तथा टावर निर्माणका लागि प्राधिकरणले पहिलोचरणमा ६ अर्ब ७२ करोड खर्च हुने अनुमान गरेको छ।

त्यस्तै इक्वुपमेन्ट समेत गरी ९ अर्ब लागतमा पहिलोचरणको काम सकिने छ। दोस्रो चरणको काममा प्राधिकरणले अर्को टर्मिनल भवन बनाउने छ, समानान्तर ट्याक्सी वे, पार्किङ वे जस्ता संरचना दोस्रो चरणमा निर्माण हुनेछन्।

अहिले बनेको टर्मिनल आन्तरिक उडानमा प्रयोग हुने प्राधिकरणले जानकारी दिएको छ। दोस्रोचरणमा बन्ने टर्मिनल तथा पार्किङ वे जोड्नलाई एरोब्रिज बनाइनेछ। यो भएमा अन्तर्राष्ट्रिय उडानका यात्रुले जहाजबाट सिधै टर्मिनलमा आउजाउ गर्न सक्नेछन् ।