काठमाडौं । नेपालका आम नागरिक अब विकास निर्माण होस् वा सार्वजनिक सेवा । संवेदनशील वा अतिसंवेदनशील कुनै पनि क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती सहँदैनन् भन्ने झलकहरु एक पछि अर्को देखिन थालेका छन् । बर्खामा काठमाडौंको वौद्ध जोरपाटी–साँखु सडक आसपासका नागरिकले के–के मात्रै गरेनन् । कहिले टायर बाले, कहिले नेताको बाटो रोके, कहिले धान नै रोपे । त्यति गर्दा पनि अवस्था सुधार भएन ।

तर, अहिले नगरकोटका स्थानीयले अनौठो सांकेतिक विरोध गरेका छन् । उनीहरुले सडक निर्माण एवं स्तरोन्नतिको ठेक्का पाएका ठेकेदारको धज्जी उडाईदिए । यतिसम्म कि ठेकेदारको फोटोसँगै बाँदर र कुकुरको फोटो राखेर पोल–पोलमा, रुख–रुखमा, भित्ता–भित्तामा र हुँदाहुँदा सार्वजनिक तथा निजी सवारी साधनमा पोष्टर टाँसेर आक्रोशसहितको विरोध जनाए ।

समयमा काम नगरेर त्यस्तो बेइज्जती सहने ठेकेदार भने अरु कोही नभई सरकार हाँकिरहेको पार्टी नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी, शारदाप्रसाद अधिकारी हुन् । पोष्टरमा उनको फोटो मात्रै छैन, नाम र पशुसँगको तुलना सहित छ ।

संयोगले सडक किनाराका पोल–पोलमा बंगलादेशका राष्ट्रपतिको सम्मान र स्वागतका लागि टाँसिएका तस्वीर छन् । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको सद्भावना भ्रमणमा छन् । बंगलादेशी महामहिमको स्वागतका लागि सरकारले जसरी पोष्टरिङ गरेको छ, त्यसरी नै ठेकेदार अधिकारीलाई सबक सिकाउनेहरुले पोष्टरिङ गरेका छन् ।

अधिकारीको निर्माण कम्पनी हो, सैलुङ कन्स्ट्रक्सन । उनी र उनको निर्माण कम्पनीदेखि नगरकोटका स्थानीय तथा पर्यटन व्यवसायी रिसाएका छन् । भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक कालोपत्रे नगरेपछि स्थानीयको सिरिंगो तातिएको छ । नगरकोट एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। सडक नबनेपछि स्थानीय मात्रै होइन, पर्यटकले समेत असाध्य कष्ट भोगिरहेका छन् ।

आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले सन् ०१४ जुन ५ मा दुई वर्षभित्र सक्ने गरी सडक विस्तारको सम्झौता गरेका थिए । तीन पटक म्याद थप गर्दा उनीहरूले बल्ल ६५ प्रतिशत काम सकेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले बताए । ठेक्का लागेको ३० महिनासम्म रूख काट्न ढिलाइ भएको जस्ता समस्या देखाएर निर्माण व्यवसायीले सम्झौताको म्याद थप गराएका थिए । पछिल्लो पटक थपिएको म्याद सन् ०१८ जुनमै सकिएको छ । निर्माण व्यवसायीले अहिले पनि म्याद थपको बाटो खोजिरहेका छन् ।

‘एक्जिम बैंक इन्डिया’ को ऋण सहयोगमा ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँ लागतमा करिब १६ किलोमिटर लामो कमलविनायक भत्केको पाटी–नगरकोट सडक विस्तार गर्ने सम्झौता गरिएको थियो । साविक साढे ३ मिटरको सडकलाई बढाएर ७र७ मिटर तथा मुख्य घुम्तीमा ११ मिटरसम्म फराकिलो बनाउने, कालोपत्र गर्ने र नाली–ढलको व्यवस्थापन गर्ने गरी ठेक्का लगाइएको हो ।

कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्म १५.६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि २०७१ असार २ गते सम्झौता भएको थियो। सम्झौता अनुसार ठेकेदार २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो। त्यसबेला नबनेपछि कन्स्ट्रक्सनले पटक–पटक म्याद थप गर्दै आएको छ।