काठमाडौं । फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको ‘होम’ खेलमा नेपाल हारेको छ । भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले हारेको हो ।

चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । कुवेतविरुद्ध नेपालले पनि गोलको अवसर पाएको थियो । तर, नेपालले त्यसलाई सदुपयोग गर्न सकेन।

सुजल श्रेष्ठको क्रसमा २२औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएर बाहिरियो । ४०औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले मुस्किलले बचाए ।

यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७-० ले पराजित भएको थियो । यो हारसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ५ खेलमा ३ अंक जोडेको छ । यही खेल खेल्न जानु पहिले नेपाली राष्ट्रिय टोलीको अग्रपंक्तिका खेलाडी विमल घर्तीमगरसहित चार जना नाइट क्लबमा छिरेको भन्दै राष्ट्रिय टोलीबाटै निकालिए । अहिले विमल लगायत भरपर्दा चार खेलाडीविनाको टोलीले कुवेतविरुद्ध खेलेको हो ।