काठमाडौँ । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले सहकारी संस्थाहरुले बजारमा भएको सानो पुँजीलाई संकलन गरेर उत्पादनशील क्षेत्रमा लगानी गनुपर्नेमा जोड दिएका छन् । जीवन्त बचत तथा ऋण सहकारी संस्थाको कार्यालय उद्घाटन तथा कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै मेयर बस्नेतले सहकारीहरुमा सदस्यहरुबाट संकलित पुँजी अनुत्पादक क्षेत्रमा लगानी भइरहेको भन्दै सहकारीको सिद्धान्तबाट दायाँ बायाँ नलाग्न सहकारी सञ्चालकहरुलाई सचेत गराए ।

सदस्यहरुको आर्थिक सहभागिता हुने भएकाले समुदायलाई हित हुने कायक्रम ल्याएर अघि बढ्न मेयर बस्नेतले आग्रह गरे । मेयर बस्नेतले भने, ‘समाजको आर्थिक र सामाजिक रुपान्तरणको उद्धेश्य राखेर सुरु भएका सहकारीले बजारबाट संकलित पुँजी पैसा खरिदमा नभई सहकारीको सिद्धान्तमै दृढ रहनुपर्छ, अहिलेबाटै जग बलियो हुन सकिएन भने समाजमा आर्थिक कारोबारको नाममा अर्को विकृती बढ्छ ।’ शेयर सदस्यहरुको आर्थिक स्थिति सुधार, रोजगारी सिर्जना र समुदायप्रति चासो हुने खालका कार्यक्रम ल्याए मात्र सहकारी सञ्चालनले सार्थकता पाउने उनले बताए ।

उप–मेयरले सुनाइन् किस्सा ‘बचत तथा ऋण’ हुनुपर्नेमा ‘ऋण तथा बचत भन्ने बेला आयो’
यस्तै, दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङले सहकारीहरुले बचतकर्तालाई नुन र सुन किन्न ऋण दिन नहुने बताइन् । उप–प्रमुख तामाङले अहिले सहकारीहरुको पछिल्लो लगानी उत्पादनमुलक क्षेत्रमा भन्दा नुन र सुन किन्ने नाममा ऋण प्रवाहमा केन्द्रित भएकाले बेलैमा सजग हुन समेत आग्रह गरिन् । उनले भनिन्, ‘यस नगरपालिकामा विषयगत सहकारीहरु खुल्ने क्रम बढ्दो छ, योसँगै सहकारीमा बचत गर्न आउनेहरु विशेष गरेर ऋण पाउने आशाले मात्र आउनृुभएको हुन्छ । यसकारण अहिले बचत तथा ऋण हुनुपर्नेमा ऋण तथा बचत भन्नुपर्ने अवस्था आएको छ ।’

उप–प्रमुख तामाङले सम्पूर्ण सहकारीलाई ऐन नियमको पालना गरेर असल ऋणमात्र प्रवाह गर्न आग्रह गरिन् । ‘जीवन्त सहकारी सफलता र समृद्धिको लागि’ भन्ने मूल नाराका साथ जीवन्त बचत तथा ऋण सहकारी संस्थाले मंसिर १ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ । उदघाटन समारोहमा दक्षिणकाली नगरपालिकाका प्रमुख, वडाध्यक्ष लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहभागि भए ।