काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी ओलीले पूरा कार्यकाल (पाँच वर्षसम्मै)सरकार चलाउने र पार्टीको कार्यकारी भूमिकामा प्रचण्ड रहने निर्णय गरेको छ । अब ओली पाँच वर्षको पूर्ण कार्यकाल प्रधानमन्त्री रहनेछन् । अर्का अध्यक्ष चण्डले पार्टी सञ्चालनको जिम्मेवारी पाएका छन् ।

वुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । बैठकमो निचोड अनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । पार्टी एकीकरण गर्दा भएको आलोपालोको सहमति अब यो निर्णयले काटेको छ । प्रतिनिधिसभाको यो कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार अध्यक्ष ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रीत हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रीत हुनेछन् । तर, बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुने भनिएको छ । वरियतामा ओली पहिलो र प्रचण्ड दोस्रो हुने पुरानै सहमति कायम छ ।