काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता त्रिवेन्द्रसिंह रावतले कालापानी क्षेत्रलाई भारतको भूमि भनेका छन् ।उत्तराखण्डको पिथौरागढ जिल्लामा कालापानी पर्ने भन्दै उनले त्यो भूमिलाई नेपालले दावी गर्नु ‘चिन्ताजनक’ समेत भनेका छन् । उनले अगाडि भने, ‘कालापानीबारे नेपालले जे कुरा भनिरहेको छ, यो चिन्ताजनक छ । भारतको जुन हिस्सा छ, त्यो भारतकै रहन्छ ।’

नेपालका प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय सेना फिर्ता हुन आग्रह गरेको दुई दिनपछि भारतीय नेता रावतले यस्तो प्रतिक्रिया दिए । भारतीय चर्चित पत्रिका अमर उजालाले रावतको अभिव्यक्ति उल्लेख गरेर समाचार लेखेको छ ।

प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको समेत समाचार बनाएको यो पत्रिकाले भोलिपल्टै रावतको प्रतिक्रिया लेखेको हो । यो पत्रिका स्वयंले पनि कालापानी क्षेत्रलाई नेपालले ‘दावी’गरिरहेको भनी लेखेको छ । साथै कालापानी उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको भनी पत्रिकाले जिकिर गरेको छ ।-एजेन्सी ।