काठमाडौं । निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ । द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखाएको हो ।

नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययन सकिएको जानकारी दिए । उनले अध्ययनबाट निर्माणाधीन द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको सुनाए ।

अमलेखगन्जसम्म आइपुगेको पाइपलाइनलाई पथलैयाबाट निजगढ नजिक रहेको द्रुतमार्ग हुँदै काठमाडौँ ल्याउने योजना छ । उनले भने, ‘द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यलाई अध्ययनले सम्भव देखाएको छ । अबको दुई हप्ताभित्र यो अध्ययनको विस्तृत प्रतिवेदन ‘कन्सलटेन्सी’ले नेपाल आयल निगमलाई बुझाउने छ ।’ अध्ययन प्रतिवेदनले आयोजनाको सम्भाव्यता र चुनौती देखाउनुका साथै आयोजनाको लागत, पेट्रोलियम पदार्थ ढुवानीमा आयोजनाबाट निगमलाई हुनसक्ने बचतलगायतको विषयमा जानकारी प्राप्त हुने प्रबन्धक रेग्मीले बताए । पुल्चोक इन्जिनियरिङ अध्ययन क्याम्पसअन्तर्गतको ‘इन्जिनियरिङ कन्सलट्यान्सी सर्भिस’ले सो सम्भाव्यता अध्ययन गरेको हो ।

यसअघि काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीद्वारा तयार डीपीआर र एसियाली विकास बैङ्क (एडीबी)द्वारा गरिएको अध्ययनमा समेत द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव रहेको उल्लेख गरिएको थियो ।

अहिलेसम्मको अध्ययनले भौगोलिक बनोटका कारण द्रुतमार्गमा रक्सौलबाट अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने जस्तो सहज हुन नसक्ने उनले बताए । उनले भने, ‘अमलेखगन्जदेखि काठमाडौँको सतह करिब एक हजार मिटर अग्लो छ । द्रुतमार्ग हुँदै पेट्रोलियम पाइपलाइनमार्फत काठमाडौँसम्म पेट्रोलियम पदार्थ ल्याउन कम्तीमा दुई ठाउँमा ‘बुस्टर पम्प’ जडान गर्नुपर्ने हुन्छ ।’ मोतीहारीदेखि अमलेखगन्जसम्मको उचाइ दुई सय मिटर मात्र फरक छ ।
द्रुतमार्गमा ‘हाइराइज ब्रिज’ र सुरुङमार्ग निर्माण हुने भएकाले पुल र सुरुङमार्ग हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाका लागि नै नयाँ प्रयोग हुने छ । भारतमा समेत सुरुङमार्गभित्र पेट्रोलियम पाइपलाइन बिछ्याइएको छैन । नदी र खोला भएको ठाउँमा ‘‘होरिजेन्टल डेफ्थ ड्रिलिङ’ गरेर छ मिटरसम्मको गहिराइमा पाइप बिछ्याउन सकिने एउटा विकल्प देखिएको उहाँले बताए ।

द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा नेपाली सेनासँग नेपाल आयल निगमले दुई पटक बैठक गरेको छ । निगमका प्रबन्धक रेग्मीले सेना यस कार्यका लागि सकारात्मक रहेको बताए । सेनाले द्रुतमार्गमा पुल र सुरुङ निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको हुनाले पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा प्राविधिक र कानुनी रूपमा छिट्टै निष्कर्षमा पुग्नुपर्ने सेनाको सुझाव छ  ।

‘इन्जिनियरिङ कन्सलट्यान्सी सर्भिस’का प्रमुख नारायणप्रसाद गौतमले द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउनेबारे गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भई प्रतिवेदन तयारीको काम भइरहेको जानकारी दिए । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारले निर्णय गरेको अवस्थामा द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सेना तयार रहेको बताए ।