काठमाडौँ । अस्पतालको शय्याबाट प्रधानमन्त्रीले भन्याजस्तो हुन्छ कि हुँदैन भन्ने द्विविधाकैबीच १३औँ दक्षिण एसियाली खेलकूद (साग) नेपालमा भइछाड्यो । तर, सागमा अनेकथरी किस्सा भए । ओलम्पिक कमिटी यसको हर्ताकर्ता हुनुपर्नेमा राष्ट्रिय खेलकूद परिषद हर्ताकर्ता भयो । त्यतिले त केही भएको थिएन । उदघाटन समारोहमा खेलसँग सम्बन्धित भन्दा सरकारका मान्छे र पार्टीका कार्यकर्ताको चुरीफुरी बढी देखियो । अनि, सरकारमा रहेकाहरुको प्रचारशैली अनौठो देखियो ।

मन्त्री भएर शपथ खाँदासमेत दौरा–सुरुवाल नलगाउने कम्युनिष्ट नेता साग खेलकूदमा दौरा–सुरुवालमा ठाँटिएका देखिए । ती मध्येका एक हुन्, गृहमन्त्री रामबहादुर थापा । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत गर्दा विमानस्थल जाने सबैले अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन भनेर प्रधानमन्त्रीले निर्देशन दिँदा पनि टेरेनन् । तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुरुवालमा प्रकट भए । किन भन्दा त्यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग)आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका रहेछन् ।

उनीमात्रै होइन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भीआर्इपीले सित्तैमा दौरा–सुरुवाल पाएको बताइँदै छ ।

सागका विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाए । तर, दुर्भाग्य १ नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्रयाक–सुटमै हिँडाइएको थियो । खेलाडीको तर्फबाट सपथ खाँदा नेपाली राष्ट्रिय टोलीका निवर्तमान कप्तान पारस खड्का ट्रयाकमै थिए । उनीसँगै सपथ लिने दीपक थापासमेत अन्य अफिसियल भन्दा फरक रङको दौरा सुरुवालमा थिए । सपथका क्रममा खड्का र थापालाई नेपाली सेनाकै अगुवा पछुवाले सम्मान दिए । तर, एउटा फगत औपचारिकता मात्रै देखियो । यस्तै, खेलकूदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दौरा–सुरुवाल अस्वीकार गरे ।

उनले सागको नाममा भएको खर्च विवरण हेरेर अनियमिततालाई अस्वीकार गर्न अर्थका अधिकारीहरूसँग संक्षिप्त अनौपचारिक छलफल पनि गरेको सुनिएको छ । खर्च दिने त अर्थमन्त्रालय नै हो ।

आयोजना र व्यवस्थापनका लागि सरकारले पौने चार अरब विनियोजन गरेको छ । यो रकमबाट नेपालसहित दक्षिण एसियाका सात राष्ट्रका खेलाडी, प्रशिक्षक, प्राविधिक र प्रतिनिधि गरी झन्डै ६ हजार सहभागीको नेपाल बसाइ व्यवस्थापन गर्नु पर्नेछ । यही रकमबाट नेपाली खेलाडीको तयारी पनि । तर, आर्थिक रूपले पनि आफ्नो पोसाक आफैँ व्यवस्था गर्न सक्ने विशिष्ट व्यक्तिहरूले खेलकूदका लागि आएको रकमबाट एक–एक जोर कपडा भने जोडेका छन् ।

साग प्रतियोगिता आयोजनाका लागि मन्त्रिपरिषद्ले नै प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति गठन गरेको छ । स्वास्थ्यले साथ नदिएपछि प्रधानमन्त्रीले अस्पतालको शय्याबाटै सागको उदघाटन हेर्नु पर्ने अवस्था आयो । तर, त्यही समितिमा सदस्य रहेका मन्त्रीले सित्तैको दौरा–सुरुवाल लगाउन अलिकति पनि लाज मानेनन् । समितिमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, मुख्यसचिव लोकदर्शन रेग्मी समेत छनु । उनीहरूका लागि पनि एक–एक जोर कपडा व्यवस्था गरिएको बताइएको छ ।

यो के गरेउ सिलवाल ?
अहिले साग सञ्चालनको हर्ताकर्ता हुनु पर्ने नेपाल ओलम्पिक ममिटीका अध्यक्ष जीवनराम शर्मा हुनुपर्ने । तर, त्यस्तो भएन साग गराउनै कै लागि केपी ओलीले आफुलाई पठाएको भन्न रमेश सिलवालले ओलम्पिक कमिटीलाई ओभरटेक गरे । ओली इत्तर गुटका मान्छेहरु साग तयारीमा पुरै माइनस पारिए । उनले केही दिन पहिले मात्रै पत्रकारसँग ‘जहाँ पनि खोट देखाइहाल्नुपर्ने भन्दै’ गुनासो गरेका थिए । तर, अचाहिँदो ढंगले गरिएका कामलाई देख्दा देख्दै भएकै होइन पनि त भन्न मिल्दैन होला ? यत्ति कुरो त उनले बुझ्नु पर्ने । एउटा कुरा छोटो समयमा ठूला कार्य गर्नुपर्ने दबाब थियो नै, सिलवालमाथि । तर, गर्ने भन्दैमा जथाभावी त गर्नु भए न नि ? भीआइपीलाई सित्तैमा दौरा–सुरुवाल ? त्यो पनि निर्देशन समितिका सदस्यहरुलाई समेत ? यो के गरेको ?

सिलवालका कमजोरी अरु पनि
मुलुकै प्रतिष्ठा जोडिएको साग आयोजक टोली प्रमुख हुन्, जीवनराम श्रेष्ठ । तर, सागको ‘स्टेरिङ’ सिलवालले समाते । हुँदा–हुँदा सिलवालले १३औँ साग तयारी तथा व्यवस्थापन समितिको सचिवालय प्रमुख कमल खनाललाई बनाइदिए । जो जीवनराम श्रेष्ठ पहिलोपटक राखेप सदस्य सचिव भएर आएपछि अवकाश दिइएका व्यक्ति थिए । उनको नियुक्ति मन्त्रीको ठाडो आदेशमा भएको थियो । हुँदा–हुँदा खनालको नियुक्तिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले नै रिपोर्ट दिनु परेको थियो ।

सागको प्रचार–प्रसार तथा प्रकाशसन समितिमा पनि उही गति । जहाँ राखेप सदस्यसचिव सिलवालले नजिकका मान्छेलाई प्रचार–प्रसारको जिम्मा दिएका छन् । त्यो मध्येका कोही त सिलवालको गोल्डेनगेट कलेजमा सहयात्रा गरेका मान्छे पनि पर्छन् । प्रचार–प्रसारका लागि छुट्याइएको बजेट ८ करोड भनिएको छ । तर, त्यो बजेट पनि पास भएको छैन भन्छन्, प्रचार–प्रसार समितिमा रहेका देवेन्द्र सुवेदी ‘दुर्गा’ । बजेट विनै प्रचार–प्रसार ? कस्तो अचम्म ! अनि सागको मुखैमा धमाधम खेलकूदस्थल निर्माण हुँदै थिए, त्यो पनि विना प्रतिस्पर्धा । आफुले चिनेका मान्छेलाई जथाभावी ठेक्का दिएर गरिएका काम यही सागलाई मात्रै हुने हुन् वा केही वर्ष टिक्छन् ? पत्तो छैन ।