काठमाडौँ । दक्षिण भारतको हैदराबादमा एक महिला पशुचिकित्सकको बलात्कारपछि जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका चार अभियुक्त ‘प्रहरी इन्काउन्टर’मा मारिएका छन् ।

हैदराबादबाट ५० किलोमिटर पर क्षेत्र महबुब नगर जिल्लाको चटनपल्ल गाउँमा शुक्रबार बिहानीपखको ३ बजे चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका बीबीसी हिन्दीले जनाएको छ ।

२६ वर्षीया महिला पशु चिकित्सकको बलात्कारपछि जलाएर हत्या गरेको अभियोगमा प्रहरीले उनीहरुलाई बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो।

त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।

मारिएका मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु रहेका छन् । यी चार अभियुक्तलाई लिएर बिहीबार राति प्रहरी घटना भएको भनिएको जंगलमा गएको थियो ।

प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको र त्यहाँ आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले जनाएका छन् । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

यसरी भएको थियो घटना

नोभेम्बर २८ को साँझ स्थानीय समयानुसार छ बजेतिर २७ वर्षीया महिला आफ्नो स्कूटरमा चिकित्सकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

पछि उनले आफ्नो स्कूटर पन्चट भएको, र ट्रक ड्राइभरहरूले सहयोग गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन् । उनले आफू कुनै टोल प्लाजामा पर्खिरहेको बताएकी थिइन्। त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भयो । बिहीवार बिहान उनको मृत शरीर सडकको ‘फ्लाईओभर’ मुनि फेला परेको थियो ।