काठमाडौं । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटवीन)ले गरेको एउटा अध्ययनबाट वैदेशिक रोजगारीका नाउमा मानव बेचविखन भइरहेको थाहा हुन आएको छ । यो अध्ययनले बाहिर ल्याएको ज्वतन्त कुरा चाँहि, मान्छे बेच्ने कार्यमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता नै सक्रिय रहेको कुरा हो । एटवीनको अध्ययन अनुसार मानव बेचविखनका एक तिहाई घटना वैदेशिक रोजगार र परामर्शसँगसम्बन्धित छन् ।

अर्को मूल कुरा, १७ वर्ष उमेर समूहका अर्थात बालबालिका देखि किशोरकिशोरी तहका नै ५० प्रतिशत बेचिए । जहाँ १ सय ८१ पीडितको उमेर उल्लेख छ । फरक तर्क गर्नेहरुले आँकडालाई मात्रै आधार मानेर वैदेशिक रोजगारलाई शंकास्पद बनाउनु हुँदैन भन्छन् । तर, पीडित मध्ये ५१ प्रतिशत यौन शोषण, ३५ प्रतिशत श्रमशोषण र ९ प्रतिशत मानव अंग बेचविखनमा परेको ‘जर्जरता’ यो भित्र रहेको तथ्य खुलेको छ ।

आँकडाले अरु पनि संकेत गरेको छ, लाउँलाउँ–खाउँखाउँको उमेरका मान्छेहरु भुङ्ग्रामा परिरहेका छन् । एटवीनका अनुसार १८ देखि २९ वर्ष उमेर समूहका ४१ प्रतिशत, ३० देखि ४९ वर्ष उमेर समूहका ९ प्रतिशत बेचविखनमा परेका छन् ।

तर, ५० वर्ष माथि उमेरका भने यो वर्ष एक जना पनि परेका छैनन् । मानव बेचविखन तथा ओसारपसारसम्बन्धी सामाग्रीहरूको अध्ययन तथा विश्लेषण गरी तयार पारेको प्रतिवेदनमा प्रभावित जिल्ला मध्ये सिन्धुपाल्चोक पहिलो नम्बरमा रहेको उल्लेख छ ।

संख्याकै कुरा गर्दा सिन्धुपाल्चोकका ९ जना, नुवाकोटका ७ जना, दैलेख र काभ्रेपलाञ्चोकका ५–५ जना बेचविखनमा परेका छन् । सिमापार लगेर बेचविखन गरिएका घटना ५४ प्रतिशत, वैदेशिक रोजगारीसँग सम्बन्धित २६ प्रतिशत र आन्तरिक ओसारपसार तथा बेचविखनसँग सम्बन्धित ८ प्रतिशत रहेको कुरा प्रतिवेदनमा छ ।

४ सय ८६ जना प्रभावितको कैरहनमा ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष समेटिएका छन् । बेचविखन कर्ता अर्थात् दलाल सबैभन्दा धेरै ३३ प्रतिशत एजेन्ट र म्यानपावर व्यवासायी तथा परामर्शदाता रहेको अध्ययनले देखाएको छ ।

बेरोजगारी समस्याले पिल्सिएकाहरु मध्ये राम्रो कामको प्रलोभनमा परि बेचविखनमा पर्नेको संख्या ३७ प्रतिशत छ । यसले वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन तथा ओसारपसार एवं मानव तस्करी बढेको देखाउँछ ।

राज्यले यो विषयमा खोजविन गर्न आवश्यक रहेको र वैदेशिक रोजगार ऐन संशोधनको सुझाव प्रतिवेदक संस्थाले दिएको छ । मानव बेचविखन तथा ओसारपसार ऐन समेत संशोधननको आवश्यकता औँल्याउँदै एटवीनले वैदेशिक रोजगारीका क्रममा हुने बेचविखन तथा ओसारपसार एवं मानव तस्करीलाई सम्बोधन गर्न समेत भनेको छ ।

सरकाले खाडी मुलुकमा रोजागारीकालागि जान महिलालाई रोक लगाएको छ । त्यसैलाई केन्द्रीत गरेर मानव तस्करले अवैध बाटोबाट नेपालीलाई जोखिमपूर्ण गन्तव्यमा पठाइरहेका घटना बढेका छन् । मुलुकको बेरोजगारी समस्याले पीडितलाई जोखिपूर्ण श्रम गन्तव्यमा जान बाध्य पारिरहेको तर्क एटवीनकी अध्यक्ष नातीसरा राईको छ । उनले मानव बेचविखन तथा ओसारपसारलाई रोक्न तीनै तहका सरकार र सुरक्षा निकायको भूमिकाको खोजी नागरिक तहबाट पनि हुनुपर्ने बताएकी छन् ।

भारतीय तस्कर बढी
मानव बेचविखनको घटनामा बढी सक्रीयता भारतीयकै पाइएको छ । मानव तस्करीका २७ प्रतिशत घटनामा भारतीय नै संलग्न रहेको पाइएको हो । त्यस्तै छरछिमेकीबाट १२ प्रतिशत, प्रेमी र श्रीमान संलग्न भएका ६।६ प्रतिशत, साथी संगतले २ प्रतिशत र अन्य कारणले बेचिएका घटना ३ प्रतिशत छन् ।

११ प्रतिशत मान्छे भने थाहै नपाई बेचबिखनमा परेको प्रतिवेदनले औंल्याएको छ । थाहै नपाई बेचिनेमा ५ जना त बालबालिकै छन् । बालबालिका राखिएको सेल्टर सञ्चालक नक्कली आमा बनेर समेत मानव तस्करी गरिरहेको तथ्य पनि यो अध्ययनका क्रममा खुलेको छ ।

अहिले अफ्रिकी मुलुक, युरोपीयन मुलुक, मलेसिया, कतार, साउदी, युएई, कुबेतमा मानव तस्करी बढ्दै गएको देखिन्छ । सरकारले खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा जान रोक लगाएका कारण भारत, म्यानमार, बंगलादेश र पाकिस्तानको बाटो प्रयोग गरेर नेपाली महिला जोखिमपूर्ण श्रम गन्तव्यमा गइरहेका छन् । यो विषय राज्यका लागि चुनौती हुँदै हो, नव नियुक्त श्रममन्त्री रामेश्वरराय यादवका लागि त झन् चुनौती पहाड भन्दा फरक नपर्ला ।